दाङमा कुनै समय थारू राजा दङ्गीशरणको राज्य थियो भन्ने किंवदन्ती र केही ऐतिहासिक तथ्यका आधारमा गाउँपालिकाको नाम नै दङ्गीहरण राखिएको छ । पश्चिममा बबई गाउँपालिका, पूर्वतिर तुलसीपुर उपमहानगरपालिका, उत्तरतिर शान्तिनगर गाउँपालिका र दक्षिणतिर पहाडपारि लमही नगरपालिकाको भूगोलभित्रको भूभाग नै दङ्गीहरण हो । तथापि दङ्गीशरणको दरबार मानिएको क्षेत्र तुलसीपुर उपमहानगरपालिकामा पर्दछ । दङ्गीशरणले सोही दरबारमा रहेर राज्य सञ्चालन गरेको किंवदन्ती पाइन्छ । सो दरबारको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । दरबारको दक्षिणतर्फ ठुलठुला तलाउ छन् । पूर्वतिर एउटा मन्दिर र थारू जातिले परम्परागतदेखि पूजापाठ गर्दै आएको ठन्वा (भुह्यारथान) रहेको छ । दाङको तलुसीपुर उपमहानगरपालिका–११, सुकौरास्थित सुकौराकोट साबिकको उरहरी गाउँ विकास समिति–९ हो । महाभारत शृङ्खलाबाट बगेको पातुखोलाको पूर्वी तट, शिवालिक शृङ्खलाको फेददेखि बगेको बबई नदीको उत्तरी तटमा थारू राजा दङ्गीशरणले राज्य गरेको विश्वास गरिन्छ । दङ्गीशरणबाट स्थापित राज्यका राजधानी मानिएको सुकौराकोट ऐतिहासिक तथा पुराताìिवक महìवको क्षेत्र हो ।
दरबारको इतिहास
सुकौराकोटसम्बन्धी सबैभन्दा पुरानो दस्ताबेज इसरदासले प्राकृत भाषामा रचित स्मृति काव्य हो । नरहरिनाथ योगीले सङ्कलन गरेको उक्त काव्य इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रहमा प्रकाशित छ । उक्त काव्य अनुसार सुकौराकोट अथवा दङ्ग देशमा राज्य गरेर बसेको थारू राजा दङ्गी पाण्डव, कृष्णको समकालीन मानिन्छ (योगी २०२२:४७०–४७७) । दङ्गीशरण राजा आफ्नो पालामा तामाको सिक्का प्रचलनमा ल्याएको र उक्त सिक्कामा दङ्गी शब्द रहेको पाइन्छ । सुकौराका स्व. नारायण चौधरीको सङ्ग्रहमा रहेको दङ्गी अङ्कित मुद्रा विशेष स्मरणीय छ । महाभारतको पूर्वार्धकालमा यो फैलिँदै बसाइँसराइले भारतको कोशल राज्य हाल उत्तर प्रदेश उत्तराञ्चल खिरी, लखिमपुर, बहराइच, गोन्डना, श्रीवस्ती, भारतको तुलसीपुर आदि हुँदै नेपालको नेपालगन्ज, कपिलवस्तु, नवलपरासी आदि र गण्डक प्रदेशसम्म फैलियो । द्रह्युका वंस प्रताती, दुर्मद भए दुर्मदका सन्तान दनवार थारू कहिए यी पूर्वतर्फ लागे ।
एउटा पराक्रमी शर्तधर्मा भने यतै बसे । यिनको निवास स्थान बाँके र बहराइचको सीमा थियो होला । शतधर्माका सन्तानबाट सत्ता र थारू कहलिए । पौराणिक इतिहासमा राजा या सामन्तका धेरै छोरा बलवान् र पराक्रमी हुन्थ्यो । उसका मात्र नाम लेखिन्थ्यो । सतुको अर्थ छोत्रा मात्र नभएर वंश अर्थ पनि हुन्छ । शतधर्माले दाङ देउखुरी, सल्यान, फलवाङ, कोर्वाङ आदि उत्तरीवर्ती क्षेत्रतर्फ बस्ने म्लेच्छहरूबाट आफ्नो आधिपत्यमा राखे (शतधर्मावहुलान म्लेच्छाना मूदीच्या ना माधिपत्यमकरोट–विष्णुपुराण च.अंश १७ अ) ।
सायद उस बखत यो क्षेत्र मङ्गोलियन जातिको अधीनमा रहेको थियो होला । आफू आर्य भाषाभाषी भएकाले मङ्गोल जातिको भाषा नबुझ्ने भएकाले तिनलाई म्लेच्छ भनेको हुनु पर्दछ । आफूले नबुझ्ने भाषाभाषीलाई म्लेच्छ भनिन्छ । अङ्ग्रेज, मुसलमान आदिलाई मात्र भनिँदैन यिनै सत्तार थारूमध्येको पराक्रमी राजा बनेर नदी, पर्वत, दुर्गम किल्ला भएको दाङको सुकौरालाई राजप्रसादपरिसर बनाएर महाभारतकालको उत्तरार्धसम्म सुकौरामा बसी यस क्षेत्रको शासन गरे । वास्तविक नाम थाहा भएन, चल्तीको नाम दङ्गीशरण हुन सक्छ । दाङ देउखुरीमा बस्ने गरेकाले सत्तार थारूको नामकरण दङौरा थारू भयो (प्रा. दत्तात्रेय दाहालःथारू दङ्गीशरण र सुकौरा एक विवेचना ५:२०६२) ।
खाम भाषामा मैदानी भागलाई दाङ या दाङ्ग भनिन्छ । उच्चारणमा सजिलो पर्ने हुनाले दङ्गी भयो । शरणम्को अर्थ हो रक्षक । दङ्गी– दाङ्गवाला) शरणम् रक्षक हुन् अर्थ भयो । प्राचीनकालमा सेना सिपाही राजाका हुनाले रक्षा गर्ने क्षमता राजामा हुँदा दङ्गीशरण नाम नै प्रसिद्ध भयो । सुकौरा महाभारतकालिक महत्वपूर्ण स्थल हो । महाभारतमा भरत खण्डमा असङ्ख्य राजा थिए । १८ दिनको महाभारतको युद्धमा धेरै राजा पक्ष विपक्षमा लाग्दा नष्ट भए । उनका राज्य पनि छिन्नभिन्न भए । केही ससाना राजा बचे । तिनै राज्यमध्ये दङ्गीशरण होलान् । यिनको दिव्य घोडीको कथा रोचक छ । घोडीका निम्ति श्रीकृष्ण र छोरा घोडी हरण गर्न खोज्ने प्रद्युन्न आदि यादवसँग पाण्डुपुत्र भीमसेनको सहायता लिएर गधायुद्ध गरेको कुरा प्रस्ट भइसकेको छ (प्रा. दत्तात्रेय दाहालः दङ्गीशरण किन भनियो ५,६:२०६२) ।
विसं १२०० को आरम्भमा दङ्गीशरणको नेतृत्वमा सुकौराकोटबाट थारू राज्यको जगेर्ना भएको उल्लेख गरिएको छ (सुवेदी २०६२:४२) । सुकौराकोट प्राचीन किंवदन्तीका आधारमा दङ्गीशरणको दरबार क्षेत्र मात्र नभई मध्यमकालीनमा दङ्गीशरणको नामबाट दाङको नामकरण गरिएको हो (सुवेदी २०६३:११) । दङ्गीशरणको पुस्ता लघुदङ्गी, उपरदङ्गी, चितलदङ्गी, अङ्गदङ्गी, मगरदङ्गी, सारदङ्गी, उरगसेन, मदलसा रानी, मनीपरिक्षक, रत्नपरिक्षक आदिबाट सुकौराकोटमा चालिस पुस्तासम्म राज्य गरेको इतिहास छ । दङ्गीशरणको राजा भएको र उनको सम्बन्ध पाँच पाण्डवमध्ये भीमसँग पनि रहेको पुष्टि थारू अनुसन्धानकर्ता भुवन चौधरी गर्नुहुन्छ । उहाँका अनुसार जनश्रुति अनुसार दङ्गीशरण राजाले भीमलाई भेट्न सुभद्राको सहायतामा बाटो खोजे । भगवान् कृष्णले आफूलाई मार्ने धम्की दिएको बताइएपछि रानी सुभद्राले सबै देवीदेवताको पूजा गर्ने सर्तमा राजालाई सहयोग गर्ने वाचा गरिन् । पछि कृष्ण र दङ्गीशरणबिच युद्ध हुने बेला भीमले रोटी पकाइरहेका थिए । युद्धमा भीम र कृष्ण आमनेसामने भए पनि अन्ततः मेलमिलाप भयो र दङ्गीशरणको ज्यान जोगियो । भीमले आधा पकाएको एकतर्फी रोटी आफ्ना दाजुभाइलाई खुवाए । यही प्रसङ्गसँग जोडेर थारू समुदायले आजसम्म पनि अटवारी पर्वमा एकतर्फी रोटी पकाएर भीमको स्मरणमा पूजा गर्ने परम्परा चलाउँदै आएका छन् । त्यसै गरी युद्धमा स्वर्गकी अप्सरा मेनका श्रापमुक्त भई स्वर्ग गएकी थिइन् । त्यसपछि दङ्गीशरणले पाँच पाण्डवसहित ब्रह्मा, विष्णु र ३३ कोटी देवताको सामूहिक पूजा आरम्भ गरे । सोही समयदेखि थारू समुदायले माटोका घोडाघोडी बनाएर कुलदेवताका रूपमा पूजा गर्ने संस्कार आजसम्म निरन्तर रहेको मानिन्छ ।
पुरातत्वमाथि टावर
थारू राजा दङ्गीशरणको ऐतिहासिक दरबारको संरक्षण हुन सकेको छैन । विकासका नाममा दरबारको बिच भागमा भ्यु टावर निर्माण गरिएपछि दरबारको मौलिक स्वरूप, पुराताìिवक संरचना र ऐतिहासिक सम्पदा नै सङ्कटमा परेको छ । स्थानीयवासी, इतिहासकार तथा थारू समुदायका अगुवाले यो दरबार थारू जातिको मौलिक इतिहास बोकेको स्थल भएकाले संरक्षणको माग गर्दै आएका छन् । उत्खननमा भेटिएका पुरातात्त्विक सामग्रीले पनि यसको ऐतिहासिक महत्व प्रमाणित गरेको छ । थारू अगुवा महेश थारू पुरातात्त्विक सम्पदा स्थलमा भ्यु टावर निर्माणले इतिहास ओझेलमा पार्ने बताउनुहुन्छ । उहाँका अनुसार दरबारको विकास र प्रवर्धनमा राज्यले गरेको लगानीले नै दरबारको मौलिकता बिगार्ने काम भएको छ । दरबार प्रवेशद्वार र दङ्गीशरण राजाको सालिकबाहेक अरू काम हुन सकेको छैन ।
अलपत्र उत्खनन
पुरातत्व विभागले दङ्गीशरण दरबारको उत्खनन तीन पटकसम्म गरेको थियो । उत्खनन क्रममा थारू राजाले प्रयोग गर्ने गरेका केही पुराना तामाका सिक्काहरू, थारू जातिका पुर्खाहरूले प्रयोग गर्दै आएको विभिन्न प्रकारका माटाका भाँडाकुँडा, गुन्द्री, ढकिया, भौका, थारू महिलाले घाँटीमा लगाउँदै आएको मोतीका दाना, हातमा लगाउने लखौटीका चुरा, माटाका विभिन्न किसिमका देवीदेवता, सिकार खेल्ने धनुष, घर बनाउने चार प्रकारका इँटालगायत सामग्री भेटिएको थियो तर उत्खनन गरेको बर्सौं बित्दा पनि पुरातत्व विभागले उत्खनन कार्यलाई न त पूर्णता दियो न त उत्खननबाट प्राप्त प्रमाणलाई सार्वजनिक ग¥यो । त्यसपछि अहिले दङ्गीशरण दरबारको उत्खनन कार्य अलपत्र अवस्थामा छ ।
स्थानीय आवाज
थारू अगुवाहरू लुम्बिनी शैलीमा दङ्गीशरण दरबारको पुनर्निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । प्राध्यापक कुलवीर चौधरी भन्नुहुन्छ, “दङ्गीशरण दरबार अहिले जे संरचना बनाएको छ त्यो गलत छ ।” उहाँ भन्नुहुन्छ, “यो त हाम्रो पहिचानको थलो हो, जिल्लावासीको ऐतिहासिक धरोहर, पर्यटकीय स्थल हो । भ्यु टावर जहाँ पनि बनाउन सकिन्छ तर दङ्गीशरण दरबार दोहोरिएर फेरि बनाउन सकिँदैन् । तसर्थ यसलाई लुम्बिनी शैलीमा दङ्गीशरण दरबारको संरक्षण र प्रवर्धन गर्नु पर्छ ।” लुम्बिनी विकास कोषको जस्तै संस्थागत शैलीमार्फत दङ्गीशरणको विकास गरिनुपर्ने धारणा उहाँको छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी दङ्गीशरणको दरबार, सुकौराकोटको संरक्षण र विकासलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुहुन्छ ।
लुम्बिनी प्रदेश योजना आयोगका सदस्य एवं थारू अनुसन्धानकर्ता भुवन चौधरी सुकौराकोट विकास कोष वा सुकौराकोट विकास बोर्ड स्थापना गरी विकास र संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।
दरबार पुग्ने बाटो
तुलसीपुर बजारबाट करिब नौ किलोमिटर दक्षिण पश्चिममा दङ्गीशरण दरबार छ । तुलसीपुर बजारबाट दक्षिण मदन आश्रित चोकदेखि पश्चिम विष्णु हल हुँदै सुकौरा रोडबाट गाडीमा करिब आधा घण्टामा पुग्न सकिन्छ । तुलसीपुर अमिलिया रोडको शीतलपुर चोकबाट पश्चिम हुँदै पनि दङ्गीशरण दरबार पुग्न सकिन्छ ।
दङ्गीशरण गाउँपालिका कार्यालयदेखि करिब तीन किलोमिटर दक्षिणमा रहेको दङ्गीशरण दरबार गाउँपालिका हुँदै बैबाङ गाउँको बिचबाट पूर्वतिर लागेपछि एउटा खोला आउँछ । उक्त खोलामा रहेको पुल पार गर्नेबित्तिकै थोरै अगाडि दङ्गीशरण दरबारमा पुग्न सकिन्छ ।