• २१ फागुन २०८२, बिहिबार

बाँकेमा ५० प्रतिशत मतदान

blog

नेपालगन्ज ९ को बालमन्दिर मतदान केन्द्रमा मतदानका लागि आएका वृद्व महिला । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनक रूपमा शान्तिपूर्ण तरिकाले चलिरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले अपराह्न ३ बजेसम्म ५० प्रतिशत मतदान भएको जानकारी दिनुभयो।

उहाँले बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको लाम लागेको बताउनुभयो। मतदान गर्न आउनेहरूले सहज रूपमा मतदान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो। बाँके जिल्लाभरि मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति रहेको छ। युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकाय तथा निर्वाचनकर्मीहरू सक्रिय रूपमा खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको बताउनुभयो।

स्थानीय मतदाताहरूले आफ्नो प्रतिनिधि छान्ने अवसरलाई उत्सवका रूपमा लिँदै उत्साहपूर्वक मतदान गरिरहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ। अझै पनि विभिन्न मतदान केन्द्रहरूमा मतदाता ठुलो संख्यामा मतदानका लागि आउने क्रम जारी छ।