• १८ वैशाख २०८३, शुक्रबार

पोखरा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिसको सानदार जित, फाइनलमा प्रवेश

blog

पोखरा, वैशाख १८ गते । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । 

पोखरामा पहिलो पटक आयोजना गरिएको यो स्तरको महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सानदार जितसहित फाइनलमा स्थान सुरक्षित गरेको छ । 

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा भएको खेलमा पुलिसले आयोजक टोलीलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

पुलिसको एकपक्षीय जितमा राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पाँच गोल गरिन् । खेलको पाँचौँ मिनेटमा गोलको खाता खोलेकी रेखाले ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । नले लगत्तै ३७औँ र ६०औँ मिनेटमा थप दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । पुलिसका लागि निर्मला विक र सहारा लिम्बूले पनि एक–एक गोल थपे भने एउटा गोल उपहारस्वरूप प्राप्त भएको थियो । खेलको १०औँ मिनेटमा निर्मलाले र ५०औँ मिनेटमा साहाराले गोल गरेका थिए । पाँच गोल गरेकी रेखा पौडेल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

खेलको सुरुवातदेखि नै आयोजक टोलीमाथि दबाब बनाएको पुलिसले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । आयोजक आरएस पोखराले केही राम्रा अवसर सिर्जना गरे पनि पुलिसकी गोलरक्षक उषा नाथ बाधक बन्दा गोल फर्काउन सकेन । खेलको २३औँ मिनेटमा अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गरिदिएका थिए भने २८औँ र २९औँ मिनेटमा भएका प्रहारलाई उषाले बचाउ गरिन् । ४०औँ मिनेटमा वर्षा ओलीले गोल गर्ने सुन्दर अवसर गुमाएकी थिइन् । 

प्रतियोगितामा आयोजक आरएस र पुलिससहित त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब गरी चार टोलीको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । उक्त खेलको विजेताले वैशाख २० गते हुने फाइनलमा उपाधिका लागि पुलिसको सामना गर्नेछ । 

प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीलाई ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस