• १८ वैशाख २०८३, शुक्रबार

सञ्चार क्षेत्रमा एल्गोरिदमको प्रभावबारे बहस

blog

काठमाडौँ, वैशाख १८ गते । डिजिटल रूपान्तरण, राजनीतिक अर्थतन्त्र र सञ्चार क्षेत्रका चुनौतीबारे केन्द्रित एक राष्ट्रिय सेमिनार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रेस युनियनको आयोजना तथा फेस नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा डिजिटल सञ्चार, मिडियाको विश्वसनीयता र लोकतान्त्रिक अभ्यासमा सञ्चार क्षेत्रको भूमिकाबारे गहन छलफल गरिएको हो ।

सेमिनारमा डिजिटल सञ्चार विज्ञ उज्वल आचार्यले “डिजिटल मिडिया र एल्गोरिदम” विषयमा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा प्रयोग हुने एल्गोरिदमले सूचना प्रवाह, जनमत निर्माण तथा मिडियाको पहुँचमा ठुलो प्रभाव पारिरहेको बताउनुभयो । उहाँले डिजिटल युगमा गलत सूचना, दुष्प्रचार र 'क्लिक'मा आधारित सामग्रीको बढ्दो प्रवृत्तिले पत्रकारिताको विश्वसनीयतामाथि चुनौती थपिएको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र सञ्चारकर्मी कृष्णा पौडेलले डिजिटल प्रविधिले सञ्चार क्षेत्रमा अवसरसँगै गम्भीर चुनौती पनि ल्याएको बताउँदै मिडियाको व्यावसायिकता र तथ्यमा आधारित समाचारका लागि पत्रकारिताको आचारसंहितालाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यसैगरी, पुष्प आचार्यले “अर्थ–राजनीति र नेपाली सञ्चार अवस्था” विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्यममाथि राजनीतिक तथा आर्थिक प्रभाव बढ्दै गएको विश्लेषण प्रस्तुत गर्नुभयो । उहाँले सञ्चार संस्थाको स्वामित्व संरचना, विज्ञापन बजारको दबाब र राजनीतिक पहुँचले स्वतन्त्र पत्रकारितामा असर पारिरहेको बताउनुभयो ।

प्रस्तुत कार्यपत्रमाथि सञ्चार विज्ञ जगत नेपाल र सञ्चारिका समूहकी पूर्वअध्यक्ष विमला तुम्खेवाले डिजिटल रूपान्तरणसँगै सञ्चार क्षेत्रलाई थप उत्तरदायी, समावेशी र विश्वसनीय बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । उहाँहरूले पत्रकारको क्षमता अभिवृद्धि र डिजिटल साक्षरतामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा फेस नेपालकी प्रतिनिधि पवित्रा रावलले लोकतान्त्रिक समाजमा स्वतन्त्र र जिम्मेवार सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न जिल्लाका करिब ७५ जना पत्रकारको सहभागिता रहेको थियो । सहभागीहरूले डिजिटल युगमा मिडियाले भोगिरहेका चुनौती, एल्गोरिदमको प्रभाव र सूचना प्रवाहको पारदर्शिताका विषयमा व्यापक छलफल गरेका थिए ।