• १७ वैशाख २०८३, बिहिबार

हुलाकले घरमै पुर्‍याइदिन थाल्यो राहदानी

blog

स्थानीय महेन्द्र विकको राहदानी आफन्त स्मृति रसाइलीलाई बुझाउँदै हुलाक कर्मचारी ।

गजेन्द्र गुरुङ

खजुरा, वैशाख १७ गते । जिल्ला हुलाक कार्यालय बाँकेले सेवाग्राहीका राहदानी घरमै पु¥याउने सेवा सुरु गरेको छ । बिहीबारदेखि उक्त सेवा बाँके जिल्लामा सुरु गरिएको हुलाक कार्यालयले जनाएको छ ।

जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र थारुले मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एकसय कार्यसूचीहरु अन्तर्गत बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गोभरमेन्ट कुरियर सर्भिस’का रुपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स सरकारी कागजातहरु घरमै पु¥याउने व्यवस्थाअनुसार बाँकेमा पनि सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालय बाँकेमा घरदैलोमा नै राहदानी बुझ्ने दर्ता फाराम भरेका सेवाग्राहीहरुको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई डेलिभरी कार्यको सुरुवात गरिएको जानकारी दिनुभयो ।

यस सेवाबाट जिल्ला सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरुले राहदानी लिनका लागि मात्र सदरमुकामसम्म आउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र समय तथा स्रोतको बचत पनि भएको कार्यालय प्रमुख थारुको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयले हुलाकमार्फत डेलिभरी गर्न चाहने इच्छुक सेवाग्राहीबाट छुट्टै विवरण सङ्कलन गरी छपाइ भएर आएका राहदानी प्रशासन कार्यालयले हुलाक कार्यालयमा हुलाक वस्तुकै रुपमा दर्ता गराएपश्चात् हुलाक कार्यालयले हल्कारामार्फत सम्भव भए सोही दिन नै डेलिभरी गर्ने व्यवस्था मिलाइएको थारुले बताउनुभयो ।

बिहीबार प्राप्त दुई थान राहदानीमध्ये एक जना सेवाग्राहीको घरमै पुगेर प्रदान गरिएको उहाँले बताउनुभयो । खजुरा गाउँपालिका वडा नम्बर ६ का महेन्द्र विकको राहदानी हुलाक कर्मचारीले घरमै पुगेर बुझाएका हुन् । सम्बन्धित व्यक्ति घरमा नभएका कारण उहाँका आफन्त स्मृति रसाइलीलाई राहदानी बुझाइएको हुलाक कार्यालयले जनाएको छ ।

यो सेवा निःशुल्क रुपमा गरिने भएका कारण सेवाग्राहीहरुले कुनै शुल्क तिर्न नपर्ने हुलाक कार्यालयले जनाएको छ ।