• १७ वैशाख २०८३, बिहिबार

प्रहरीद्वारा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना

blog

जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै प्रहरी कर्मचारी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख १७ गते । जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । घरबाट टाढा बसी कार्यक्षेत्रमा खटिएका प्रहरी जवानदेखि अधिकृतसम्मलाई एकै स्थानमा भेला गराई मनोरञ्जन प्रदान गर्न यो कार्यक्रम गरिएको हो ।

शान्ति सुरक्षा कायम गर्न चौबीसै घण्टा खटिने प्रहरीको कार्यबोझ र तनावलाई कम गर्दै उनीहरूको आत्मबल बढाउन कार्यक्रम फलदायी हुने विश्वास लिइएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो । कार्यक्रममा प्रहरी कर्मचारीले विभिन्न लोकनृत्यका साथै देउडासमेत प्रस्तुत गरेका थिए । कुल १३ वटा साङ्गीतिक प्रस्तुति रहेको सो कार्यक्रममा महिला प्रहरीको कलात्मक प्रस्तुति विशेष आकर्षणको रूपमा रहेको थियो ।

प्रहरीभित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वसँग घुलमिल गराउन यो कार्यक्रम सहयोगी सिद्ध हुने विश्वास लिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले प्रहरीद्वारा आयोजित यस्तो सांस्कृतिक कार्य सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी लगायतको उपस्थिति रहेको थियो ।