• १७ वैशाख २०८३, बिहिबार

अनिवार्य भन्सार व्यवस्थाले नेपाली व्यवसायी उत्साही

blog

सुनौली नाकानजिकै भैरहवा भन्सार कार्यालयको जाँच र व्यापारीको चहलपहल । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, वैशाख १७ गते । सरकारले १०० रुपियाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै रूपन्देहीको सुनौली नाकामा दैनिक आवागमन र किनमेलमा उल्लेखनीय कमी आएको छ । सीमापारि भारतीय बजार सुनसान बन्दै गएका छन् भने नेपालतर्फका व्यवसायीमा उत्साह थपिएको छ ।

यो व्यवस्थापछि सीमापारि सस्तो किनमेल गर्न जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेपछि स्थानीय बजारमा ग्राहकको चाप बढ्न थालेको व्यवसायीहरू बताउँछन् । भैरहवा गल्लामन्डीका व्यापारी राजु अग्रवालका अनुसार पहिले सानो–सानो किनमेलका लागि पनि मानिसहरू पारि जान्थे, अहिले त्यो प्रवृत्ति घटेको छ । उहाँले भन्नुभयो, “यसले हाम्रो व्यापारमा सकारात्मक असर पारेको छ ।”

त्यस्तै, कपडा व्यवसायी सन्तोष श्रेष्ठले पनि अनिवार्य भन्सार नीतिले स्वदेशी बजारलाई संरक्षण गरेको धारणा व्यक्त गर्नुभयो । ग्राहक अहिले यतै किनमेल गर्न आकर्षित भएकाले बिक्री बढेको उहाँको भनाइ छ ।

उद्योगी–व्यवसायीका संस्थाले पनि सरकारको निर्णयलाई स्वागत गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सीमा नाकामा गरिएको कडाइले स्वदेशी व्यवसायमा सकारात्मक प्रभाव पार्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि कुनै व्यवसायीले बिनाकारण मूल्य बढाउँछ भने बजारको नियमित अनुगमन गरी कारबाही हुनुपर्छ । हामी सरकारलाई सहयोग गर्न तयार छौँ ।” उहाँले व्यावसायिक कारोबार बिनाभन्सार गर्न नपाइने तर सर्वसाधारणलाई समस्या पर्न नहुनेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार सीमावर्ती क्षेत्रमा देखिने ‘क्रस–बोर्डर सपिङ’ घट्नु नेपाली व्यवसायका लागि सकारात्मक सङ्केत हो । स्थानीय उद्योग र व्यवसायलाई संरक्षण गर्न यस्ता नीति आवश्यक रहेको उहाँले बताउनुभयो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनका नाममा धेरै परिमाणमा सामान किनेर बिनाभन्सार ल्याउने क्रमलाई निरुत्साहित गर्न नाकामा कडाइ गरिएको जानकारी दिनुभयो । यसबाट तस्करीसमेत घटेको उहाँको दाबी छ ।

सशस्त्र प्रहरी बल २७ नम्बर गुल्म रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले सीमामा गरिएको जाँचलाई निरन्तरता दिइएको र यसमा कुनै अवरोध वा विवाद नभएको बताउनुभयो ।