काठमाडौँ, वैशाख १७ गते । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकास्थित बागमती र यसका सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि सुरु गर्ने भएको छ ।
पहिलो चरणमा सिनामङ्गलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएको छ । अब दोस्रो चरणको काम अघि बढाउने तयारी पूरा भएको सहरी विकास मन्त्रीका स्वकीय सचिव विवेक बास्तोलाले जानकारी दिनुभयो । यस प्रक्रियालाई व्यवस्थित बनाउन बिहीबार मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसी आवश्यक तयारी पूरा गरिएको छ ।
स्थानान्तरण कार्यलाई सहज बनाउन जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रूपमा दशरथ रङ्गशाला पुर्याइनेछ । रङ्गशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्याङ्क सङ्कलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा सामाजिक विवरण सङ्कलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्याङ्क सङ्कलन गरिनेछ ।
त्यसैगरी, तत्काल होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायले सहयोग गर्नेछ । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन बसको व्यवस्था गरिएको छ । मन्त्रालयले प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको समेत व्यवस्था गरेको छ ।
सङ्कलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिलाई होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ भने पहिचान भएका वास्तविक सुकुम्बासी परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरी पुनःस्थापनाको प्रक्रिया अघि बढाइनेछ ।
यसैबीच, विगतमा नदी किनार अतिक्रमण गरी भाडामा लगाउने वा व्यापार सञ्चालन गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।