• १७ वैशाख २०८३, बिहिबार

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार समर्पण

blog

काठमाडौँ, वैशाख १७ गते । नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई ‘प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरेको छ। 

कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो। 

सो अवसरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुरस्कृत स्रष्टाहरूलाई पुष्पमाला लगाएर सम्मान गर्नुभएको थियो।

कुलपति राईले जनही एक लाख रुपियाँ राशि रहेको ‘प्रज्ञा पुरस्कार’ १२ जनालाई र जनही ५० हजार रुपियाँ राशि रहेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ सात जनालाई समर्पण गर्नुभयो। 

प्रज्ञा पुरस्कार–२०८२ बाट समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुति, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय र सामाजिक शास्त्रतर्फ डा. डम्बर चेम्जोङ पुरस्कृत हुनुभएको छ। 

त्यसैगरी, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ र अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत) लाई सो पुरस्कार प्रदान गरियो। मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवले प्रज्ञा पुरस्कार प्राप्त गर्नुभएको छ।

प्रतिष्ठानले यसै वर्षदेखि पहिलोपटक स्थापना गरेको ‘प्रज्ञा प्रादेशिक पुरस्कार–२०८२’ सातै प्रदेशका स्रष्टाहरूलाई प्रदान गरेको छ। जसअनुसार कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्बाङ), मधेश प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्तिप्रिय बन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल 'सोडारी' सम्मानित हुनुभएको छ।


समारोहलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभाहरूलाई पुरस्कृत गर्न पाउँदा प्रतिष्ठानले गौरवबोध गरेको बताउनुभयो। उहाँले पुरस्कृत स्रष्टा आहुतिको प्रसङ्ग उल्लेख गर्दै पुरस्कारको छनोट र वितरणमा वैचारिक पक्षको पनि भूमिका रहने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुरस्कृत व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो। पुरस्कृत स्रष्टाहरूका तर्फबाट प्रा.डा. अभि सुवेदी, आहुति, डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आफ्ना मन्तव्य राख्दै प्रतिष्ठानको सम्मानले थप ऊर्जा मिलेको बताउनुभयो। 

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारीले पुरस्कारको पृष्ठभूमि र डा. मधुसूदन गिरीले पुरस्कृत स्रष्टाहरूको परिचयका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमको प्रारम्भमा प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।