• १८ वैशाख २०८३, शुक्रबार

समाजसेवी श्रेष्ठ र साहित्यकार सुवेदी पुरस्कृत

blog

काठमाडौँ,वैशाख १८ गते । सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौँले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले श्रेष्ठ र सुवेदीलाई पुस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको हो । 

प्रतिष्ठानले समाज सेवा र साहित्य विधातर्फ २०८२ का लागि दुई जनालाई जनही २५ हजार २२५ राशिको पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले बताउनुभयो । श्रेष्ठ चार दशकदेखि समाज सेवामा सक्रिय हुनुहुन्छ भने सुवेदी कथा र उपन्यास विधामा कलम चलाउनुहुन्छ । कवि प्रज्वल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार एवं समालोचक राजकुमार बानियाँले पुरस्कृत व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । 


कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक एवं पूर्वाञ्चल बालसेवा आश्रमकी संस्थापक अध्यक्ष सीता पोख्रेलको पनि समुपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । २०८१ मा स्थापित प्रतिष्ठाले यसअघि कवि कुन्ता शर्मा र समाजसेवी श्याम अधिकारी हिँडपाली साइँलोलाई पुरस्कृत गरिसकेको छ ।