• १८ वैशाख २०८३, शुक्रबार

मजदुर दिवसमै मजदुरलाई छाकको चिन्ता

blog

गजेन्द्र चोकमा कामको खोजीमा रहेका मजदुरहरु । तस्बिर : धीरेन्द्रप्रसाद साह

राजविराज, वैशाख १८ गते ।विश्व मजदुर दिवस मनाइरहँदा सप्तरीका दैनिक ज्यालादारी मजदुर भने काम नपाएर छाक टार्ने चिन्तामा परेका छन् ।

सप्तरीको रुपनी गाउँपालिका–निवासी ५२ वर्षीय सोमनाथ यादव नियमितझैँ शुक्रबार बिहान मजदुरीको खोजीमा राजविराजस्थित मजदुर हटियामा पुग्नुभयो ।

उहाँसँगै राजविराज–९ का कैलु सदा पनि कामको आशामा बिहानैदेखि गजेन्द्र चोकमा पर्खिरहनुभयो । तर दिउँसोसम्म पनि काम नपाएपछि दुवैजना रित्तै घर फर्किन बाध्य हुनुभयो ।“आज घरमा चामल कसरी लैजाने, के खाने भन्ने चिन्ता छ,” कैलुले आँखाभरि आँसु पार्दै भन्नुभयो ।

राजविराजको गजेन्द्र चोक आसपासमा दैनिक लाग्ने मजदुर हटियामा सोमनाथ र कैलुजस्तै सयौँ मजदुर बिहानदेखि कामको प्रतीक्षामा बस्ने गरेका छन् ।

तर अधिकांशले नियमित काम पाउन नसक्दा जीवनयापन कठिन बन्दै गएको छ ।स्थानीय व्यवसायी थानसिंह भन्सालीका अनुसार यहाँ भेला हुनेमध्ये करिब ७५ प्रतिशत मजदुर दैनिक काम नपाएर खाली हात घर फर्किन्छन् ।

 सामान्य निर्माण, सरसफाइ तथा कृषि कार्यका लागि मजदुर खोज्न आउनेहरू यहीँबाट कामदार लैजाने गर्छन् ।मजदुर श्यामसुन्दर खंगका अनुसार काम पाए दिनभरि काम गरेर सातदेखि आठ सय रुपियाँसम्म आम्दानी हुने गरेको छ । 

“महिनामा करिब १० दिन मात्र काम पाइन्छ, बाँकी दिन खाली बस्नुपर्छ,” उहाँले भन्नुभयो ।दैनिक १५० देखि २०० मजदुरसम्म भेला हुने यस स्थानमा काम पाएको दिन परिवारका लागि खाद्यान्न जुटाउन सहज हुने भए पनि काम नपाएको दिन भोकै बस्नुपर्ने अवस्था आउने गरेको मजदुर अजय सदाले बताउनुभयो ।

जिल्लामा उद्योग, कलकारखाना र रोजगारीका अवसरको अभावका कारण मजदुरहरू असुरक्षित र अनिश्चित श्रममा निर्भर रहन बाध्य छन् ।

उनीहरूका अनुसार श्रमिक अधिकार र दिवसका औपचारिक कार्यक्रमभन्दा पनि नियमित काम पाउनु नै सबैभन्दा ठूलो खुशी हो।मजदुरहरू भन्छन्, “हामीलाई मजदुर दिवस होइन, काम पाइने दिन नै वास्तविक उत्सव हो ।”