• १८ वैशाख २०८३, शुक्रबार

बानेश्वरमा साहित्यिक विमर्श : 'खुसीको गाउँ' उपन्यासमाथि समीक्षा

blog

काठमाडौँ, वैशाख १८ गते । तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक विशेष समारोहका बीच 'रुपान्तरण राष्ट्रिय आख्यान पुरस्कार' अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ। नेपाली आख्यान क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत साहित्यकार खागिन्द्रा खुसीलाई यस वर्षको 'रुपान्तरण राष्ट्रिय आख्यान पुरस्कार'बाट सम्मानित गरिएको हो।

वरिष्ठ साहित्यकार एवं कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले खुसीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै प्रमुख अतिथि साकारले खुसीको लेखनले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको बताउनुभयो।

२०८३ वैशाख १३ गते आयोजना गरिएको उक्त कार्यक्रममा साहित्यकार खुसीको चर्चित उपन्यास 'खुसीको गाउँ' माथि समीक्षात्मक टिप्पणी समेत गरिएको थियो। उपन्यासमाथि समीक्षा गर्दै डा. कमलराज शर्माले कृतिको शिल्प र सामाजिक चेतनामाथि प्रकाश पार्नुभयो भने लेखक राजेश विद्रोहीले उपन्यासले बोकेको दार्शनिक र वर्गीय मुद्दाहरूको चर्चा गर्नुभयो।

साहित्यिक विमर्शका क्रममा पूर्व राजदूत डा. निर्मल विश्वकर्माले 'गैरआवासीय नेपाली संघ र नेपाली साहित्य' विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रवासमा नेपाली भाषा र साहित्यको संरक्षणमा भइरहेका प्रयासबारे धारणा राख्नुभयो। यस्तै, लेखक तथा अनुवादक युयूत्सु आरडी शर्माले 'विश्वमा नेपाली साहित्यको वर्तमान स्थिति' विषयमा विमर्श प्रस्तुत गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन गुणस्तरीय अनुवादको भूमिका अपरिहार्य रहेको औंल्याउनुभयो।

कार्यक्रममा साहित्यकार अन्चु सुवेदी, कवि विष्णु भट्टराई, कवि रामेश्वर राउत 'मातृ दास', कवि दिन दया रिजाल लगायतका स्रष्टाले आ–आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो।

केदार बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कवि दिनादय रिजालले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यकार तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता प्राज्ञिक कार्यक्रमले नेपाली आख्यानको श्रीवृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।