• २० माघ २०८२, मङ्गलबार

टरीगाउँ विमानस्थल बन्यो चुनावी एजेन्डा

blog

तुलसीपुरस्थित टरीगाउँँ विमानस्थल ।

दाङ, माघ २० गते ।  हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारले विमानस्थलको धावनमार्ग विस्तार र नियमित हवाई उडान सञ्चालनलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटेका छन् । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र अवस्थित टरीगाउँ विमानस्थल विकासको आधारका रूपमा प्रस्तुत गर्दै उम्मेदवारले यसले पर्यटन, व्यापार तथा आपत्कालीन सेवामा सहजता ल्याउने दाबी गरेका छन् । यद्यपि अघिल्ला निर्वाचनमा पनि पटक पटक उठ्दै आएको यो विषय कार्यान्वयनमा भने अपेक्षित रूपमा अघि बढ्न नसकेको स्थानीयवासीको गुनासो छ ।

निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका दीपक गिरी, नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेय, नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, रास्वपाबाट कमल सुवेदीसहित विभिन्न साना दल, स्वतन्त्रसमेत गरी २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै जसो उम्मेदवारले टरीगाउँँ विमानस्थललाई विकासको प्रमुख पूर्वाधारका रूपमा व्याख्या गर्दै आएका छन् । 

सरोकारवाला भने विमानस्थल विस्तार र नियमित उडान सञ्चालनका विषयमा विगतमा बजेट विनियोजन र नीतिगत निर्णय भए पनि जग्गा व्यवस्थापन, प्राविधिक तयारी तथा कार्यान्वयन पक्ष कमजोर रहँदा योजना अलपत्र परेको बताउँछन् । हरेक निर्वाचनमा यो विषय राजनीतिक एजेन्डा बने पनि पहल गर्ने नेतृत्वकर्ताले प्रभावकारी भूमिका खेल्न नसक्दा विमानस्थलको धावनमार्ग विस्तार हुन नसकेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष खगेन्द्र पोख्रेलले बताउनुभयो । 

यद्यपि तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा घनश्याम पाण्डेय निर्वाचित भएर आएपछि उहाँसहित तुलसीपुरका उद्योगी, पर्यटन व्यवसायीको पहलमा अहिले नियमित उडान भएको उहाँले बताउनुभयो तर उक्त टरीगाउँ विमानस्थलमा १९ सिटे विमान मात्रै अवतरण गर्न सक्छन् । यस पटक स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवारीसहितको प्रतिबद्धता गर्न सक्ने उम्मेदवार चाहेको उहाँले बताउनुभयो । निर्वाचित भएपछि टरीगाउँ विमानस्थललाई व्यवहारमा उतार्न सक्ने नेतृत्व आवश्यक रहेको पोखरेलले बताउनुभयो । यो विषय यस पटक पनि चुनावी बहसको केन्द्रमा रहेकाले निर्वाचनपछिको कार्यान्वयनले मात्र उम्मेदवारको प्रतिबद्धताको विश्वसनीयता परीक्षण गर्ने देखिन्छ । 

प्रदेशकै पुरानो विमानस्थल 

टरीगाउँ विमानस्थल लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो विमानस्थल भएको दाङको महेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा इतिहासविद् डा. सुदीप गौतमले बताउनुभयो । उहाँका अनुसार टरीगाउँ विमानस्थल २०११ सालमै स्थापना भएको थियो । दरबारसम्म पहुँच भएका झग्गुप्रसाद देवकोटालगायतले पर्ती डाँडोलाई सम्याएर सेनाको एक टुकडीसमेत ल्याई २०११ सालमा पहिलो पटक यहाँ विमान उतारेका थिए । त्यसपछि २०१६ कात्तिकमा गणेशमान श्रेष्ठ यातायातमन्त्री भएका बेला देवकोटाकै पैरवीमा विमानस्थल सञ्चालनमा आएको हो । टरीगाउँमा २०१६ देखि २०४२ सालसम्म नियमित उडान भएको इतिहासविद् गौतमको भनाइ छ । १८ वर्षपछि २०६० सालबाट विमानसेवा पुनः सुरु भयो । यसपछि २०६६ सालसम्म टरीगाउँमा उडान नियमित भएको थियो तर पुनः डेढ वर्ष कालोपत्रेका लागि विमानस्थल बन्द भयो । २०७९ सालयता भने विमानस्थल सञ्चालनमै भए पनि तालिका अनुसार उडान हुन सकेको छैन ।

स्तरोन्नतिका लागि कति लाग्छ बजेट ? 

७५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग भएको टरीगाउँ विमानस्थलमा विस्तारका लागि पोखरा विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द लामिछानेले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यमा १५ दिन लगाएर ‘दाङको टरीगाउँ विमानस्थलको (१,५०० मिटर) स्तरोन्नति’ अध्ययन गर्नुभएको थियो । उहाँले गरेको अध्ययन प्रतिवेदनमा विमानस्थलको स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड २८ लाख ३५ हजार २३० रुपियाँ आवश्यक पर्ने देखिएको उल्लेख छ । स्तरोन्नतिपछि टरीगाउँमा ७२ सिटे विमानसमेत अवतरण गर्न सक्ने उहाँले बताउनुभयो ।    

Author
सन्तोष दहित

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि दाङ समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।