• ७ चैत २०८२, शनिबार

‘मतदाताको विश्वास टुट्न दिन्नँ’

blog

दाङ, चैत ७ गते । लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचय बनाउँदै आएका दङ्गीशरण गाउँपालिका–४, मौलीगाउँका कमल सुवेदीको परिचय अब फेरिएको छ । यसअघि सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका सुवेदी अब देशको नीतिनिर्माण गर्ने स्थानमा पुग्नुभएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ–३ बाट निर्वाचित भएपछि उहाँको यो नयाँ परिचय थपिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट २०७९ सालको निर्वाचनमा सोही क्षेत्रमा चुनाव लड्दा उहाँ तेस्रो स्थानमा आउनुभएको थियो । यो पटक भने सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ । सुवेदीले ४४ हजार २४८ मत प्राप्त गर्दा कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गर्नुभयो । यसअघि २०७९ सालको निर्वाचनमा सुवेदीले १५ हजार तीन सय मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका गिरी ३६ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको थियो । 

बुवा कृष्णप्रसाद उपाध्याय र आमा विष्णुदेवी सुवेदीको कोखबाट दङ्गीशरण–४, मौलीमा जन्मिएका सुवेदीले वीरेन्द्र माध्यमिक विद्यालय, हेकुलीबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो । लामो समयसम्म असल शासन क्लबको अध्यक्षका रूपमा काम गरेका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

 उहाँले क्यानडा सरकारको पूर्ण छात्रवृत्तिमा सेन्ट फ्रान्सिस जेभियर विश्वविद्यालयबाट ‘डेभलपमेन्ट लिडरसिप’ विषयमा डिप्लोमा हासिल गर्नुभएको छ । विश्वका ४५ भन्दा बढी देशको भ्रमण गरिसकेको बताउने सुवेदीले नेपालमा युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् अन्तर्गत ‘युथ भिजन–२०२५’ निर्माणमा निरन्तर पहल गरेको जानकारी दिनुभयो । उहाँले करिब एक दशकसम्म युवा गैरसरकारी संस्था महासङ्घको नेतृत्व पनि गर्नुभएको छ । पछिल्ला दिनमा राजनीतिमा समेत क्रियाशील सुवेदीले अहिले आफ्नी स्वर्गीय आमाको नामबाट एम्बुलेन्स सेवा सञ्चालन गर्दै आउनुभएको छ । दाङको पश्चिम हापुरे क्षेत्रमा सूचना तथा सञ्चारको पहुँच विस्तार गर्ने उद्देश्यले उहाँको पहलमा २०७० सालमा सामुदायिक रेडियो स्थापना गरिएको थियो ।

आफूलाई भरोसा गरेर अत्यधिक मतसहित विजयी गराएकोमा मतदाताप्रति आभार व्यक्त गर्दै सुवेदीले भन्नुभयो, “म यहाँका मतदाताको विश्वास टुट्न दिन्नँ । गलत काम कहिल्यै गर्ने छैन ।” सुवेदीले देशमा सुशासन र समृद्धि ल्याउने आफ्नो मुख्य ध्येय रहेको बताउनुभयो । सरकारी क्षेत्रमा हुने ढिलासुस्ती अन्त्य गर्दै सेवा प्रवाह छिटोछरितो बनाउने आफ्नो प्राथमिकता रहने उहाँले उल्लेख गर्नुभयो । शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने तथा संसद्मार्फत आवश्यक नीतिनिर्माणका लागि सक्रिय भूमिका खेल्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मैले विद्यालय पढ्दादेखि नै अन्याय, अत्याचार, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउँदै आएको छु । यो अभियानमा निरन्तर रहन्छु ।”   

Author
सन्तोष दहित

उहाँ गोरखापत्र दैनिकको दाङ जिल्लाका लागि दाङ समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।