दाङ, माघ १० गते । दाङको घोराही उपमहानगरपालिका–१७, गुलरियाका अशोककुमार चौधरीलाई आफ्नै मौलिक संस्कृतिप्रतिको मोह सानैदेखि थियो । विशेष गरी मादल बजाउने र नाच्ने इच्छा भए पनि परम्परागत शैलीमा सिप नहुँदा लामो समयसम्म त्यो रहर मनमै सीमित रह्यो तर यस वर्ष अशोकले त्यो अधुरो सपना पूरा गर्नुभएको छ । अहिले उहाँ मघौटानाचको मादल बजाउँदै गाउँ गाउँमा थारू संस्कृतिको पहिचान फैलाइरहनुभएको छ ।
अशोकले गाउँका अग्रजसँग मादल बजाउने र मघौटा नाच्ने अभ्यास सुरु गर्नुभयो । निरन्तर मेहनत र सिकाइपछि अहिले उहाँ नाच्न आउने युवादेखि वृद्धसम्मलाई मादलको तालमा छमछमी नचाइरहनुभएको छ । “मलाई पहिलेदेखि नै मादल बजाउने रुचि थियो,” अशोकले भन्नुभयो, “तर परम्परागत शैली आउँदैनथ्यो । गाउँका दाजु केबी, विकास र वीरेन्द्र चौधरीसँग सिकेपछि अहिले मेरो रहर पूरा भएको छ ।” उहाँका अनुसार मघौटानाच केवल मनोरञ्जन मात्र नभई थारू समुदायको इतिहास, पहिचान र सामूहिक भावनासँग जोडिएको सांस्कृतिक धरोहर हो । “अब हाम्रो मौलिक संस्कृति जोगाउन युवाहरू जागरुक भइसकेका छौँ,” उहाँले भन्नुभयो ।
यस्तै सोही गाउँकी पुनम चौधरीलाई सानैदेखि नाच्ने रहर थियो । गाउँमा चाडपर्व आउँदा हुने नाचगानले उहाँलाई सधैँ आकर्षित गथ्र्यो तर परम्परागत शैलीमा थारूनाच नाच्न नआउँदा चाहँदाचाहँदै पनि उहाँ लामो समयसम्म दर्शककै भूमिकामा सीमित रहनुभयो । यस वर्ष भने पुनमको त्यो अधुरो रहर पूरा भएको छ । गाउँका अग्रजसँग परम्परागत थारूनाच सिकेपछि अहिले उहाँ आत्मविश्वासका साथ नाचिरहनुभएको छ । मौलिक गरगहना, चोल्या र लेहङ्गामा सजिएर उहाँ मन्डर्यासँग गाउँ गाउँमा नाच्दै थारू संस्कृतिको सुन्दर प्रस्तुति दिँदै आउनुभएको छ । “सानैदेखि नाच्ने मेरो रुचि थियो,” पुनले भन्नुभयो, “तर चाडपर्व अनुसार नाचिने नाच नाच्न आउँदैनथ्यो । अब त जस्तो नाच पनि नाच्न सक्छु जस्तो लाग्छ ।” पुनमका अनुसार परम्परागत नाच सिकेपछि आफू संस्कृतिसँग अझ नजिकिएको महसुस भएको छ । युवकयुवतीको यस्तो सव्रिmयताले थारू संस्कृतिको पुस्तान्तरणमा सकारात्मक सङ्केत देखिएको स्थानीय केबी चौधरी बताउनुहुन्छ । युवकयुवतीको बढ्दो सहभागिताले थारू मौलिक संस्कृति जोगाउने अभियानलाई थप बल पुगेको उहाँको भनाइ थियो ।
उसो त घोराहीको गुलरिया मात्र होइन, दाङका विभिन्न गाउँबस्तीमा पनि पछिल्लो समय युवाहरू थारू संस्कृतिको संरक्षण र प्रवर्धनतर्फ आकर्षित हुँदै गएका छन् । विगतका वर्षमा प्रायः बुढापाकाले मात्र मघौटानाच प्रस्तुत गर्ने प्रचलन थियो तर यस वर्ष युवापुस्ताको उल्लेखनीय सहभागिता देखिएको थारू कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य एवं सांस्कृतिक अभियन्ता भुवन चौधरीले बताउनुभयो । यो एउटा जागरण पनि हो, उहाँले भन्नुभयो, “यस्तो जागरणले युगौँयुगसम्म लैजानु पर्छ, जसले सदियौँ वर्षसम्म स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा सहयोग पु¥याउँछ ।”