दाङ, पुस १९ गते । सानै उमेरमै गरिबी, अभिभावकविहीन अवस्था र पारिवारिक जिम्मेवारीका कारण पढाइ छाड्न बाध्य भएकी इलावती चौधरीको अधुरो सपना अब पूरा हुने भएको छ । गोरखापत्र दैनिकमा पुस १४ गते प्रकाशित ‘सानैमा चुँडियो इलावतीको पढ्ने रहर’ शीर्षकको समाचारपछि ग्रामीण महिला उत्थान केन्द्रले इलावतीको स्नातकसम्मको सम्पूर्ण पढाइखर्च बेहोर्ने जिम्मा लिएको हो ।
इलावतीको शिक्षा मात्र नभई अभिभावकीय जिम्मेवारीसमेत आफूहरूले लिएका ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “इलावतीलाई कार्यालयमा बोलाएर पढाइका लागि आवश्यक शैक्षिक सामग्री, झोला र विद्यालय पोसाक हस्तान्तरण गरेका छौँ । अब उहाँको पढाइको बाटो रोकिने छैन ।” गढवा गाउँपालिका–२, महादेवाकी इलावती सात वर्षकी हुँदा आमालाई र त्यसको एक वर्षपछि टिबीरोगबाट पीडित बुवालाई गुमाउन पुग्नुभयो ।
आर्थिक अभावका कारण बुवाको उपचारसमेत हुन सकेन । एकै वर्षको अन्तरालमा आमाबुवा गुमाउँदा इलावतीको काँधमा अशक्त हजुरआमाको स्याहार, सानो भाइको हेरचाह र घरको सम्पूर्ण जिम्मेवारी आइप¥यो । मावली पक्षको सहयोगमा केही समय पढाइलाई निरन्तरता दिँदै आएकी इलावती आर्थिक अभाव, विद्यालय शुल्क, भाइको पढाइ र हजुरआमाको उपचार खर्चका कारण कक्षा ८ मा पढ्दै गर्दा विद्यालय छाड्न बाध्य हुनुभयो ।
१५ वर्षकै उमेरमा मजदुरी गर्दै जीवन धानिरहेकी इलावतीको पढ्ने चाहना भने कहिल्यै मरेन । एक वर्ष ढिलो भए पनि अब त्यो चाहना फेरि ब्युँतिएको छ । खुसी हुँदै इलावतीले भन्नुभयो, “अब मजदुरी गर्न जान्नँ, फेरि पढ्न जान्छु । आसामानी दिदीले छोरीसरह माया गरेर पढाइको जिम्मा लिनुभएको छ ।” ग्रामीण महिला उत्थान केन्द्रले आइतबारदेखि नै इलावतीलाई पुनः विद्यालय भर्ना गराउने तयारी गरेको छ । अध्यक्ष चौधरीले यसका लागि सरस्वती माध्यमिक विद्यालय, गोबरडिहाका प्रधानाध्यापक र गाउँपालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले इलावतीलाई आफ्नै छोरीसरह मानेकी छु । आर्थिक अभावका कारण अब उहाँको पढ्ने सपना फेरि चुँडिन दिने छैनौँ ।”
यसैबिच सानो झुपडीमा बस्दै आएकी इलावतीका लागि केन्द्रले भूकम्प प्रतिरोधात्मक दुईकोठे पक्की घरसमेत निर्माण गरिदिएको छ । आउने साता उक्त घरको चाबी हस्तान्तरण गर्ने तयारी रहेको केन्द्रले जनाएको छ । इलावतीको सङ्घर्ष र सहयोगको यो कथाले शिक्षा र सहानुभूतिले जीवन बदल्न सक्ने सन्देश दिएको छ ।