• १९ वैशाख २०८३, शनिबार

धरानमा साकेला उँभौलीको अवसरमा शिली प्रदर्शनी

blog

साकेला शिलीमा सहभागी स्थानीय ।

निशा राई

धरान, वैशाख १९ गते । धरान उपमहानगरपालिकामा किराँत समुदायको महान् चाड साकेला उँभौली २०८३ (येले संवत् ५०८६) को अवसरमा साकेला शिली प्रदर्शनी गरिएको छ ।

किराँत राई यायोक्खा धरान नगर कार्यसमितिको आयोजनामा शनिबार धरान–२ स्थित भानुचोकमा किराँत संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साकेला शिली नृत्य प्रदर्शन गरिएको हो ।

साकेला उँभौली किराँत राई समुदायले वर्षमा दुई पटक मनाउने प्रमुख चाडमध्ये एक हो । उँभौलीलाई उकालो लाग्ने समय अर्थात् बाली रोपाइँ तथा खेतीपाती सुरु हुने यामसँग जोडेर मनाइन्छ । यस अवसरमा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै राम्रो उब्जनी, सुखसमृद्धि र शान्तिको कामना गरिन्छ ।

यस पर्वमा किराँत राई समुदायले परम्परागत भेषभूषामा साकेला शिली नृत्य प्रस्तुत गर्ने चलन छ । शिली नृत्यमार्फत कृषि, प्रकृति, जनजीवन तथा सामाजिक गतिविधिहरूको सांकेतिक प्रस्तुति गरिन्छ । ढोल–झ्याम्टा जस्ता बाजागाजासहित सामूहिक रूपमा प्रस्तुत गरिने यो नृत्य किराँत संस्कृतिको महत्त्वपूर्ण पहिचानका रूपमा लिइन्छ ।

कार्यक्रममा धरानका कार्यवाहक नगर प्रमुख आईन्द्रविक्रम बेघा, किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।