• २९ चैत २०८२, आइतबार

"अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकार प्रतिबद्ध, उच्छृङ्खल गतिविधि नगर्नू"

प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका युवा परिवारको जिम्मामा

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहलाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पाँचथरका एक युवालाई परिवारको जिम्मा लगाइएको छ ।

गृह मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चैत २६ गते पक्राउ परेका ती युवालाई आइतबार परिवारको जिम्मा लगाइएको हो । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा साइबर अपराधमा जिल्ला अदालतबाट अनुमति लिई कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उल्लेख छ ।

मन्त्रालयले यस विषयमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार संविधानप्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । "आफ्ना विचार प्रकट गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनु प्रत्येक नागरिकको नैतिक कर्तव्य रहन्छ," विज्ञप्तिमा भनिएको छ ।

समाजमा उच्छृङ्खल गतिविधि गर्ने, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता कार्य प्रचलित कानुनविपरीत हुने मन्त्रालयले स्मरण गराएको छ । यस्ता गतिविधिहरूमा सम्बन्धित निकायले नियमित प्रक्रियाअन्तर्गत निगरानी गरिरहेको जानकारी दिँदै मन्त्रालयले प्रत्येक नागरिकको मौलिक हक र अधिकारको रक्षाका लागि सरकार सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।