नेपालमा तत्कालीन प्रधानमन्त्री देवशमशेरले शनिबार सार्वजनिक बिदा दिने प्रचलन आरम्भ गरेका थिए । आजसम्म मुलुकमा यसैले निरन्तरता पाएको छ । यसमा क्रमभङ्गताका लागि पटक पटक आइतबारसमेत सार्वजनिक बिदा थपिएका छन् । ती छोटा अवधिमै संशोधन भएका छन् । वर्तमान सरकारले २०८२ साल चैत २३ गते सोमबारदेखि सरकारी कार्यालय र शैक्षिक संस्था बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने र हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने घोषणा गरेको छ । यसले सार्वजनिक बिदाका विषयमा बहस निम्तिएको छ ।
सरकारी स्पष्टीकरण
नेपाल सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असामान्य परिस्थितिका कारण हप्तामा दुई दिन बिदा दिने घोषणा गरेको छ । इजरायल–अमेरिका र इरानबिच हाल युद्ध जारी जस्तै छ । दुई साताका लागि विराम भए पनि युद्ध टुङ्गिएको छैन । यसका कारण एकातिर पेट्रोलियम पदार्थको उत्पादन घटेको छ भने अर्कातिर यसको ढुवानीमा समेत गम्भीर अवरोध उत्पन्न भएको छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता, अन्तर्राष्ट्रिय ऊर्जा सङ्कट र इन्धनको खपत घटाउन सरकारले यो निर्णय लिन बाध्य भएको भनिएको छ । किनकि यो आलोचनाको विषय बन्न सक्दैन ।
दुईदिने बिदाका फाइदा
नेपाल सरकारका कार्यालय र शिक्षण संस्था दुई दिन बिदा भएपछि यसको असर सबै क्षेत्रमा पर्ने छ । यसबाट सवारीसाधन कम गुड्ने छन् । वातावरण प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने छ । पेट्रोलियम पदार्थको आयात कम भएपछि नेपालको व्यापार घाटामा कमी आउने छ । यसबाट सरकारी कर्मचारीलगायतले दुई दिनको बिदा उपयोगबाट लाभ लिने छन् । यसबाट आन्तरिक पर्यटन विस्तार हुने छ । यसको माग निजी क्षेत्रबाट भइरहेको छ । यसबाट घरायसी काम दुरुस्त हुने छन् । कर्मचारीलगायतको पढाइलेखाइमा मद्दत पुग्ने छ । आमनेपालीको दैनिक जीवनमा केही सुबिस्ता विस्तार हुने छ ।
दुईदिने बिदाका बेफाइदा
विगतमा दुई दिन बिदा हुँदा केही सरकारी कर्मचारी र विद्यार्थी बरालिएको पाइएको थियो । मदिरा सेवन गर्ने र तास खेल्नेको समय लम्बिएको थियो । यसै गरी स्कुल र कलेज बन्द गर्न पल्किएका विद्यार्थी थप कुलतमा फसेका थिए । दुर्गम स्थानबाट बल्लतल्ल सदरमुकाम वा काठमाडौँ आइपुगेकाहरू दुई दिन बिदाका कारण रणभुल्लमा परेका थिए । वैदेशिक रोजगारीमा जाने पनि यसै गरी जिल्लिएका थिए । थोरै मानिस र कम तलबबाट धेरै काम लिनुपर्ने निजी क्षेत्र र गैरसरकारी क्षेत्र पीडामा थियो ।
विद्यार्थीको पढाइ
देवशमशेरको शनिबार बिदा दिने प्रचलनले वर्षमा ५२ दिन बिदा हुन्छ । नेपाल सरकारले वर्षमा करिब ३५ दिन विभिन्न चाडपर्व र उत्सवमा बिदा दिने गरेको छ । स्कुलमा जाडो र गर्मीको बिदा कम्तीमा १५/२० दिनको हुन्छ । यस अतिरिक्त परीक्षा तयारीको बिदा, रिजल्ट कुर्ने बिदा, वार्षिकोत्सव, सरस्वती पूजालगायतका बिदा पनि कम्तीमा १५/२० दिनको हुन्छ । यसमा आइतबारको ५२ दिन बिदा थपिँदा विद्यार्थीका वार्षिक बिदाको योगफल करिब १८० दिन हुन आउँछ । सरसर्ती अन्य मुलुकलाई चियाउँदा वार्षिक रूपमा भारतमा २१० दिन, जापान र कोरियामा २३० दिन, बेलायतमा १९० दिन, अमेरिकामा १८० दिन, फ्रान्समा १६० दिन र नेपालमा १८५ दिन पढाइ हुने अनुमान गरिन्छ ।
कोभिडको समयमा लकडाउन हुँदा स्कुलले अनलाइन कक्षा सञ्चालन गरेका थिए । सरकारले प्रतिविद्यार्थी प्रतिमहिना पाँच सयको इन्टरनेट सेवा शुल्क प्रदान गरेको थियो । यसैप्रकारको कुनै वैकल्पिक प्रबन्ध नगरे विद्यार्थीको पढाइ चौपट हुने छ ।
बिदा मिलान
संसारका दुई तिहाइ मुलुकमा शनिबार र आइतबार बिदा दिने प्रचलन छ । ती मुलुकमा सामान्यतः अन्य बिदा हुँदैन । हाम्रो चाडपर्व र दिवसको बिदालाई अधिकतम १० दिनमा झार्नु पर्छ । हालका सुविधारूपी बिदालाई कर्मचारीले आलोपालोका रूपमा लिन पाउने प्रबन्ध गर्न सकिन्छ । यसबाट सरकारी कार्यालय खुला नै रहन्छ । नेपालको कानुनमा बिदा अधिकार होइन, सहुलियत हो भनिएको छ । यसको प्रबन्ध कार्यालय प्रमुखबाट हुने नै छ । यसै गरी कर्मचारीलाई महिनाको एक दिन ‘क्याजुअल’ बिदाको सुविधा छ । यो उपयोग नगरेमा ल्याप्स हुन्छ । कर्मचारीले मासिक साढे दुई दिन घर बिदा पाउँछन् । यसको सञ्चिति १८० दिनभन्दा बढी भएमा ल्याप्स हुन्छ । यसबाट कर्मचारीले ‘फोर्स लिभ’ लिने गरेका छन् । यसरी बिदा उपयोग नगरेमा सोबापत औसत तलबको दरले नगद दिने प्रणाली अवलम्बन गरेमा कर्मचारी नियमित काममा आउने छन् । यस्तै प्रबन्धले विकसित मुलुकमा हप्तामा दुई दिन बिदा दिइएको छ ।
सेवाग्राहीको मर्का
सेवाग्राहीका लागि सातै दिन र चौबिसै घण्टा सेवा पाउनु खुसीको कुरा हो । विश्वमा यो चलनचल्तीमा छ । यस अनुसार सार्वजनिक सेवा अनलाइनबाट उपलब्ध गराइन्छ । वर्तमान सरकारले ‘अनलाइन प्री अप्वाइन्टमेन्ट’ लिन पाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । यसै गरी ‘गभर्मेन्ट कुरियर सिस्टम’ बाट राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र घरमै ल्याइदिने पनि सरकारी प्रतिबद्धतामा परेको छ । यी असम्भव विषय होइनन् । प्रयास गरेमा सफलता हासिल हुने विकसित मुलुकले प्रमाणित गरिसकेका छन् ।
हाल नेपाल प्रहरीले चरित्रसम्बन्धी प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउँछ; जसअनुसार वैदेशिक रोजगारीमा आवश्यक पर्ने अनुमतिपत्र अनलाइनबाट उपलब्ध गराउन कुनै बाधा पर्दैन । आमाबुवा दुवै जना वंशजको नाताले नेपालको नागरिक रहेको, निजको सन्तान नेपालमै जन्मिएको र नेपालमै पढिरहेकालाई अनलाइनबाट नागरिकता दिन कुनै बाधा छैन । स्कुल, कलेज र विश्वविद्यालयबाट जारी हुने मार्कसिट र चारित्रिक प्रमाणपत्र अनलाइनबाट पठाइदिए हुन्छ । यसरी अधिकांश सेवा सहजै जनतालाई अनलाइनबाट प्रदान गर्न सकिन्छ । यसका लागि उपयुक्त विद्युतीय कानुनका अतिरिक्त सरकारी मानिस र आमजनताको सोचाइमा परिवर्तन ल्याउन जरुरी छ ।
‘माइन्डसेट’ मा परिवर्तन
पङ्क्तिकार प्रशासन सुधार अनुगमन समितिको संयोजक हुँदा केही सरकारी कार्यालयका सेवा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सिफ्टमा कर्मचारी खटाई प्रदान गर्न सिफारिस गरेको थिएँ । सो अनुसार काठमाडौँ उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, वैदेशिक रोजगार कार्यालय, यातायात कार्यालयलगायतमा कर्मचारी बिहान ६ बजेअघि नै पुगी सेवा प्रवाह आरम्भ गरेका थिए । नतिजा भने पूर्णतः निराशाजनक भयो । सामान्यतः अपवादबाहेक सेवाग्राही बिहान र साँझ सेवा लिन आएनन् । कर्मचारी सेवाग्राही कुरेर बसे । त्यसका कारण करिब छ महिनापछि यो सेवा बन्द भयो । सरकारी पदाधिकारी र सेवाग्राही जनताको ‘माइन्डसेट’ परिवर्तन नभई दुईदिने बिदा सफल हुन कठिन छ ।
आवश्यक पूर्वाधार
विकसित मुलुकमा बिहानै खुलेका कार्यालय साँझ मात्रै बन्द हुन्छन् । त्यहाँ कर्मचारी उक्त समयमा काम गर्न रमाएका छन् । कारण, उनीहरू बिहान घरमा पेटभरि ‘ब्रेकफास्ट’ खान्छन् । दिउँसो ‘लन्च’ खाने बानी परेको छ । उनीहरू ‘लन्चबक्स’ घरमै तयार पार्छन् । कार्यालयमा खाना तताउने उपकरण उपलब्ध हुन्छ । लन्च खाने समय छुट्याइएको हुन्छ । लन्च खाने मेचटेबुल हुन्छ । चिया, कफी जस्ता सामग्री कार्यालयले उपलब्ध गराउँछ । ‘म्याव्रmोेओभन’ र फ्रिज कर्मचारीका लागि उपलब्ध हुन्छ । किनेर खान ‘क्याफ्टेरिया’ वा क्यान्टिनको व्यवस्था हुन्छ; जहाँ सहुलियत मूल्यमा गुणस्तरीय खाना उपलब्ध हुन्छ । नेपालमा पनि सरकारी कार्यालय, विद्यालयलगायतमा सहुलियतपूर्ण मूल्यमा दिउँसोको खाना खानेलगायतका प्रबन्ध गर्न सकिए भविष्यमा पनि दुईदिने बिदालाई निरन्तरता दिन सजिलो हुने छ ।
मजदुरका पीडा
समाजमा कैयौँ मानिस दैनिक काम गरेर हातमुख जोर्ने गर्छन् । यस्ता मानिसलाई दुईदिने बिदाले समस्या पर्न सक्छ । दैनिक ज्यालादारीका कर्मचारीले शनिबार चार दिन कट्टी गरी २५/२६ दिनको तलब पाइरहेकामा भविष्यमा महिनामा आठदेखि १० दिनको तलब कट्टा हुन सक्छ । यो भनेको एक तृतीयांश तलब कट्टी हुने हो । यस पाटोबाट पनि समस्याको समाधान खोजिनु पर्छ ।
स्टक मार्केटको कारोबार
हाल नेप्सेको कारोबार हप्तामा पाँच दिन हुने गरेको छ । हप्तामा कार्यालय नै पाँचदिने भएपछि नेप्से कारोबार चार दिन मात्रै हुने हो कि भन्ने चर्चा र चासो बढेको छ । यस्ता विषयमा पनि समुचित सम्बोधन हुन जरुरी छ ।
निजी र गैससको चासो
सरकारी कार्यालय र विद्यालय हप्तामा पाँच दिन खुल्ने भएपछि निजी क्षेत्र, गैरसरकारी क्षेत्रलगायतमा तरङ्ग पैदा भएको छ । ती निकाय सरकारी लयमा चल्ने वा आफ्नै समयसारिणीमा चल्ने भन्ने दुबिधा हुनु स्वाभाविकै हो । विश्वव्यापी अनुभवका आधारमा मुलुकभित्रका सबै निकायमा हप्तामा दुई दिन बिदा दिँदा नै काममा सामञ्जस्य हुन्छ ।
अनुत्तरित प्रश्न
इजरायल–अमेरिका तथा इरानबिचको युद्ध हाल दुई हप्ताका लागि रोकिए पनि यो युद्ध दीर्घकालका लागि अन्त्य गर्ने प्रयास भइरहेको छ । नतिजा सकारात्मक गोरेटोमा छ । यसपछि नेपालका सरकारी कार्यालय र विद्यालय आइतबार पनि खुल्छन् कि अब भविष्यमा पनि हप्तामा दुई दिन नै बिदा हुन्छ भन्ने प्रश्न निरुत्तरित छ । यसलाई स्पष्ट पार्दै अघि बढ्दा नयाँ कार्यसंस्कृतिको विकासमा मद्दत्त पुग्ने छ ।
निष्कर्ष र सिफारिस
विश्वमा देखिएको विषम परिस्थितिका कारण नेपालमा हाल हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिइएको छ । यसलाई भविष्यपर्यन्त निरन्तरता दिनुपर्ने अभिमत छ पङ्क्तिकारको । यसका लागि हाल नेपालमा कायम भएका चाडपर्व, दिवसलगायतका करिब ३५ दिनको वार्षिक बिदालाई अधिकतम सात वा १० दिनमा सीमित गर्नु पर्छ । स्कुलमा विद्यार्थीका जाडो र गर्मी बिदा, परीक्षाका बिदा, वार्षिकोत्सव बिदालगायतलाई अधिकतम १५ दिनको सीमाभित्र राख्नु पर्छ । नेपालभरि तराई, पहाड, हिमाल तथा हिउँद र वर्षा सबै समयमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गर्नु पर्छ । यो व्यवस्था सरकारी निकाय र सरकारी स्कुलका साथै निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सहकारी, अन्तर्राष्ट्रिय सङ्घ संस्थालगायत सबैका लागि समान रूपमा लागु हुनु पर्छ । यसरी कामकाजमा सहभागी हुने पेसाविद् र आमनेपालीले बिहान ‘ब्रेकफास्ट’ खाने र दिउँसो ‘लन्च’ खाने नयाँ संस्कृतिको व्रmमशः विकास गर्नु पर्छ ।