• १९ वैशाख २०८३, शनिबार

आर्यजातिको आदिम प्रणाली

blog

श्याम अधिकारीद्वारा लिखित ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’ पुस्तक डिमाई साइजका १२३ पृष्ठ एवं लगभग ३६ हजार दुई सय शब्दमा समेटिएको छ । पुस्तक ऐतिहासिक महìवको छ । वेदहरूका बारेमा विश्लेषण गरेर लेखिएका कृतिहरू अरू पनि छन् तर ऋृग्वेदकै जगमा टेकेर वेदप्रतिको हालसम्मको आमधारणाभन्दा फरक दृष्टिमा नेपाली सरल भाषामा आएको यो पहिलो कृति हुनाले यो ऐतिहासिक महìवको हुन गएको हो । 

कुनै पुस्तक कुनै कालखण्डका लागि मात्र उदाहरणीय र पठनीय हुन्छ । समय घर्किएपछि त्यसको कुनै महìव रहँदैन तर यो पुस्तक सुदूर भविष्यसम्मका लागि पठनयोग्य, कौतूहल जगाउने र पढ्न चाखलाग्ने खालको छ । कुनै रूढिगत विषयमा तार्किक निष्कर्ष निकाल्नु पर्दा यो पुस्तकको खोजी गर्नैपर्ने देखिन्छ, वास्तवमा के हो त ? भनेर अध्ययन गर्न चाहने र अनुसन्धान गर्न चाहने जोसुकैले जहिलेसुकै यो पुस्तक पढ्नैपर्ने छ । 

काल परिवर्तन भएकै आधारमा मात्र यसमा लेखिएका कुरा फरक साबित हुन सक्दैनन्, त्यसैले श्याम अधिकारीको यो पुस्तक कालजयी छ भन्ने म ठान्छु । पुस्तकमा लामा छोटा गरी १२ वटा लेख र ऋग्वेदका महìवपूर्ण सूक्ति सङ्कलित छन् । 

‘आर्यजाति र ऋग्वेद’ शीर्षकको लेखमा भनिएको छ ः कुनै खास सभ्यता र संस्कृतिलाई मान्दै आएको एक ऐतिहासिक मानव समुदाय आर्य समुदाय हो, जुन अफगानिस्तानदेखि इन्डोनेसिया, मौरिसससम्म फैलिएको छ । आर्य समुदायका मानिस बसेको ठाउँ आर्यावर्त हो । आर्य शब्दले कुनै मानव अनुवंशलाई होइन, मूलतः सभ्यता र संस्कृतिलाई नै जनाउँछ । पौराणिककालको देव समुदाय नै अहिलेको आर्य समुदाय हो । आर्यगणको सभ्यता भनेकै देवगणको सभ्यता हो । ऋग्वेद आर्यहरूको मात्रै होइन, सम्पूर्ण मानवजातिकै सबैभन्दा पुरानो ग्रन्थ हो । आर्यहरू भारतभूमिमा प्रवेश गर्नुअघि नै त्यहाँ हडप्पा र मोहनजोदडोलगायतका उन्नत जातीय नगर सभ्यता विकसित भइसकेको थियो तर आर्यहरू आर्थिक, भौतिक एवं सामाजिक, सांस्कृतिक सबै रूपमा कमजोर थिए र पनि उनीहरूले हडप्पा र मोहनजोदडो सभ्यताका विकसित समुदायलाई परास्त गरेर आफ्नो हैकम जमाए । त्यसैबेलादेखि आर्यहरू भारतभूमिमा फैलिएका हुन् । दुःख कष्ट भोगेका, जङ्गल पहाड चहारेका, सिकार गरेर बाँचेका हुनाले आर्यहरू बलिया थिए, त्यसैले जित आर्यहरूकै भयो । 

यो भनाइले मेरो स्थापित धारणा ढल्मलायो । म ठान्थेँ सबैभन्दा पुरानो ग्रन्थ वेद, सबैभन्दा धेरै व्यावहारिक र वैज्ञानिक मन्त्र, (मन्त्र भनेको मन्त्रीले आफ्ना नेतालाई शासकलाई दिने सल्लाह हो । मन्त्रणा हो । गुह्य उपदेश हो । सुझाव हो । मन्त्रणा गर्ने भएरै उनीहरू मन्त्री कहलाएका हुन् ।) का सर्जक भइसकेका आर्य वा देवगण सबै कुरामा अब्बल थिए । तेस्ता आर्यलाई लेखकले किन कमजोर भन्नुभयो । अनि कमजोर आर्यले विकसित समुदायलाई कसरी परास्त गरे । संस्कार, सभ्यता, आर्थिक, भौतिक सबै कुरामा कमजोर भए पनि पाखा पखेरामा जता पनि जान सक्ने भएकै कारणले मात्र विकसित र सभ्य समाजलाई जित्न सकिने हो भने विकास किन चाहियो ? संस्कार र सभ्यता किन चाहियो ? यो गम्भीर प्रश्न ममा उब्जिएको छ, सायद अरूमा पनि उठ्छ होला । 

लेखकले वेद कुनै एक कालखण्डको सिर्जना होइन, कुनै एकले रचना गरेको होइन, यो अपौरुषेय नै पनि होइन । परन्तु हाम्रा पूर्वजले जानेबुझेका, भोगेदेखेका, सुने सुनाएका कुराको सङ्ग्रह हो, त्यसैले श्रुति हो र कतिपय ऋचा कोही कसैले रचना गरेका सूक्तहरूको सङ्कलन हो । त्यसैले सिर्जना पनि हो भन्नुभएको छ । तेसमा भएका सबै कुरा सही र उपयुक्त हुन सक्दैनन् । वेदमा भएका सबै ठिक छन्, वेद इतिहास हो भनेर ठोकुवा गर्न मिल्दैन, लेखकको भनाइ छ । यसमा यो पङ्क्तिकार पनि सहमत छ । हाम्रा शास्त्र, विद्वान् धेरै यसमा सहमत छन् । सुनेका कुरा मात्रै होइन, लेखेकै कुरा पनि कालान्तरमा उपयुक्त नहुने, फरक अर्थ लाग्ने हुन सक्छ । कहिले त हास्यास्पद पनि लाग्छ, अश्लील र अनर्थकारी पनि बन्न सक्छ । 

प्राकृतिक शक्तिलाई कसरी र किन देवत्वकरण  गरियो ?, राज्यसंयन्त्रको आवश्यकता र निर्माण किन र कसरी भयो ? ब्राह्मण, गुरु, पुरोहितहरू देवदूतका रूपमा कसरी स्थापित भए ? दान ब्राह्मणलाई नै दिनुको कारण केहो ? वर्णव्यवस्था कसरी सिर्जना भयो ? राज्यसत्ता र पौरोहित्यसत्ता अर्थात् ब्राह्मण र क्षत्रीयबिच बारम्बार परस्पर सम्मान र द्वन्द्व किन भएको हो ? दान भनेको के हो ? कर भनेको के हो ? यो कसरी सुरु भयो ? जस्ता जटिल प्रश्नको तर्कपूर्ण जवाफ पुस्तकले दिएको छ । अन्डा पहिले कि कुखुरा ? भन्नेखालका अनुत्तरित प्रश्नबारे लेखकले ऋग्वेदको आधारमा कुखुरा नै पहिले हो भन्ने किटान गर्नुभएको छ । 

हिजो आज यज्ञ भनेको हवन, पूजा, पुराणवाचन जस्ता धार्मिक अनुष्ठानहरू हुन् भन्ने आमधारणा छ । यसलाई चिर्दै मानवहितका लागि कुनै पनि उद्देश्यले गरिने युद्ध, व्यापार, खेती, उद्योग, आदि सबै कर्म यज्ञ हुन्, लेखकले स्पष्ट गर्नुभएको छ । हो कर्म नै तपस्या हो । धर्म भनेकै कर्म हो । कर्तव्य हो । जिम्मेवारी हो । यज्ञ भनेको पनि त्यही हो । सहभागितामूलक सकारात्मक कार्य सबै यज्ञ हुन् । योग र यज्ञ दुवै योजक हुन् । यज्ञबाट योजना बन्छ । योजना अनुसार कर्म हुन्छ । कर्म अर्थात् धर्म देश, काल, परिस्थिति र क्षमता अनुसार फरक हुन्छ । धर्म भनेको कानुन पनि हो । कानुन अनुसार पाएको जिम्मेवारी पूरा गर्नु धर्म निर्वाह गर्नु हो । यस्ता कर्मकाण्डीय अफवाह देवदूत मानिएका ऋषि, ब्राह्मण, पुरोहित आदिले आफ्नो पेसा सुरक्षित बनाउन फैलाइदिएका मात्र हुन् । अनि दानलाई पनि करका रूपमा राखेका हुन् । लेखकको यो विश्लेषणमा यो पाठक पूर्णतः सहमत छ र पनि लोकलाजले, समाजमा अड्मिल्दो भइन्छ भन्ने डरले यस्ता रूढिवादको पालन नगरी रहन भने सकिँदैन । धर्म भनेको अफिम हो भन्नुको कारण पनि यही हो । 

पुस्तकलाई अझ परिष्कृत र विश्वसनीय बनाउन ऋग्वेदमा भएका तुक र बेतुकका कुरा छुट्टयाइएको भए अझ वेश हुने थियो । कुनै घटनाका सम्बन्धमा तिथिमिति लेख्ने चलन त्यो बेला थिएन । त्यसैले अचेल अध्ययन गर्दा संवत् सुरु हुनुभन्दा अघिको समय जनाउनु पर्दा ‘विव्रmम पूर्व’ ‘इस्वी पूर्व’ ‘यति वर्ष उतिवर्ष अघि’ भन्ने र लेख्ने चलन छ । व्रmमिक विकासको सिलसिलाबद्ध अध्ययन र लेखनका लागि अनिवार्य हुने मिति खोज्न आवश्यक छ । मिति टुङ्गो लाग्न नसके पनि अनुमानित कालखण्ड निस्किन सक्छ, त्यति हुँदा पनि पाठकका लागि निकै सजिलो हुन्थ्यो । पुस्तक लेखनका लागि आधार र स्रोतका रूपमा जुन लेख, पुस्तक र अन्य सामग्री प्रयोग गरियो र जो जोसँग छलफल, राय लिइयो, ती सबैको प्रचलित प्रव्रिmया एपिए गाइडलाइन्स, सातौँ संस्करण अनुसार सङ्केत, उद्धरण, सूची, मिति आदि तोकिएकै ढाँचामा दिन पाएको भए पुस्तक अझै बढी विश्वसनीय, प्रामाणिक आधारयोग्य र गहन अनुसन्धानबाटै तयार भएको रहेछ भन्ने पुष्टि हुन्थ्यो । 

जुन विषयमा लेखियो, त्यसबारे यसअघि कसले के लेखे, भनेका थिए र त्यो लेखाइ, भनाइ र अहिलेको लेखाइ, भनाइमा भिन्नता, खण्डन–मण्डन के छ, कारणसहित त्यो उल्लेख भइदिएमा पाठकहरूको अन्योल घटाउन अझ बढी मद्दत पुग्थ्यो । शीर्षकभित्रका विषयवस्तुलाई विषयगत आधारमा उपशीर्षक दिएर यही प्रकरण नं. १७ मा जस्तै (१७.१, १७.२) वैज्ञानिक सङ्केतीकरण गर्न पाए झन् गजब हुन्थ्यो । संस्कृत नबुझ्ने पाठकका लागि पाठमा दिइएका सबै वैदिक ऋचाहरूको मूल पाठ र नेपाली अनुवाद भैदिएको भए पाठक बढी लाभान्वित हुने थिए । 

रूढिवादले गाँजिएको समाजलाई यथार्थ बताउन, संस्कृत नजानेकाले वेदका कुरा जानून भनेर लेखकले बडो परिश्रम साथ जुन पुस्तक तयार गर्नुभयो, त्यो अत्यन्त गौरवको विषय हो । प्रशंसनीय कार्य हो । यसका लागि लेखक धन्यवादका पात्र हुनुहुन्छ ।