• १९ वैशाख २०८३, शनिबार

स्थापितलाई धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार

blog

गोरखापत्र समाचारदाता

काठमडौँ, वैशाख १९ गते । धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार रमेशकाजी स्थापित सम्मानित हुनुभएको छ । स्थापित गोरखापत्र नेपाल भाषा पृष्ठ तथा नेपाल भाषा टाइम्सको सहप्रकाशन ‘शुव्रmवाः तँसापौँ’ का संयोजक हुनुहुन्छ ।

धर्मादित्य १९८२ सालमा पहिलो पटक नेपाल भाषामा बुद्ध धर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारितामार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पु-याएका व्यक्ति हुनुहुन्छ । नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरले नेपाल भाषाका पहिलो मातृभाषी पत्रकार, भाषा अभियन्ता तथा बौद्ध धर्मका पुनरुत्थानकर्ता धर्मादित्यको १२४ औँ जन्मजयन्ती तथा ११ औँ मातृभाषा पत्रकारिता दिवसका अवसरमा स्थापितलाई १५ हजार रुपियाँसहित सम्मानित गरेको हो । 

नेपाल भाषा एकेडेमीका उपकुलपति डा. पुष्पराज राजकर्णिकारले स्थापितलाई सम्मानित गर्नुभयो ।  डा. राजकर्णिकारले धर्मादित्य धर्माचार्यले उठाएका मुद्दा हेर्दा उहाँ समाजमा भएका समस्या पहिचान गरेर त्यसमा अगाडि बढ्ने व्यक्तित्व हुनुहुन्छ भन्नुभयो । यसै गरी गुठी संस्थाका पूर्वप्रकाशक किरण शाक्यले धर्मादित्यलाई समाज सुधारकको संज्ञा दिँदै उहाँ नेपाल भाषा र बुद्ध धर्म मात्र होइन अन्य विभिन्न क्षेत्रको ज्ञाता भएको बताउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले धर्मादित्य धर्माचार्यकै नाममा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनको सफल आयोजना गरिसकेको बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरकी अध्यक्ष मञ्जु वज्राचार्यले हरेक वर्ष धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताउँदै विगतमा नरेशवीर शाक्य, सुगतरत्न सिन्दुराकार र वसन्त महर्जन यो पुरस्कारबाट सम्मानित भइसकेको जानकारी दिनुभयो । सम्मानित पत्रकार स्थापितले धर्मादित्यको नाम नेपाल भाषा र बुद्ध धर्म सँगसँगै आउनुपर्ने विचार व्यक्त गर्नुभयो । यसै गरी धर्मादित्यकी नातिनी सिर्जना नेवाः ले आफूले पनि उहाँका बारेमा अध्ययन अनुसन्धान गरिरहेको बताउनुभयो ।