झिसमिसे उज्यालोमा इलामको पशुपतिनगरमा पुगेर गाडी घ्याच्च रोकियो । साँझ ४ बजे ‘श्री जनज्योति मावि खुर्कोट’ को ब्यानर टाँगेर रातभरि गुडेको गुड्यै थियो गाडी । ११ र १२ कक्षाका इच्छुक छात्रछात्रासहित १६ शिक्षक रहेका थियौँ । साँझ परेदेखि नै घरबाट लिएर हिँडेका खानेकुरा र जति ठाउँमा गाडी रोक्यो उति नै ठाउँमा झरेर किन्दै खाँदै थिए केटाकेटी । भिमान बजारनजिक पुगेर गाडी बिग्रेपछि निकैबेर पर्खिनु परेको थियो । रातभर नै गीत बजाएर केटाकेटी पालैपालो नाच्दै थिए । हेर्दाहेर्दै कति पटक त निदाइएछ । गलल हाँसोले गाडी नै गुन्जिएर ब्युँझेको त केटाकेटीहरू निदाउनेको फोटो पो खिच्दै रहेछन् ।
बिहानको मधुरो उज्यालोसँगै ब्युँझियौँ हामी । आकाशले अझै राम्रोसँग आँखा खोलेको थिएन । बसपार्कमा अघि नै चहलपहल बढिसकेको रहेछ । चिया पसलका एकादुई चियाका काला कित्लीहरू बैँसालु साहुनीका मिठा स्पर्शले उज्यालिइरहेका थिए । हामीले नजिकैको धारामा गएर हातमुख धोयौँ, पानी बरफ झैँ थियो । चिया पिएलगत्तै पाँच वटा गाडी हामीछेउ आए । केटाकेटी र हामी मिलेर बस्यौँ । प्रत्येक गाडीमा देखिएका महìवपूर्ण स्थान र तिनका विशेषता टिपोट गर्न टोली चुनिएको थियो– तीन सदस्यीय । हाम्रो यात्रा सुरु भयो दार्जिलिङ सहरतर्फ । नेपाली भूमि सुक्खा देखिन्थ्यो, भारतीय भूमिमा ठुलठुला वृक्ष र झाडीले हरियाली देखिन्थ्यो । ‘हरियो वन नेपालको धन’ भनेर सानैदेखि पढेको भए पनि मन विरक्तियो । पहाडतिर उकालो लाग्दै जाँदा हावामा मिसिएको चिसोपनले मनलाई आनन्दित बनाउँदै थियो ।
दार्जिलिङका १० वटा मुख्य केन्द्रविन्दुमध्ये टाइगर हिल पुग्नेबित्तिकै मेरो आँखामा सबैभन्दा पहिले परेको दृश्य थियो, विशाल हिमशृङ्खलाको छाया । सूर्योदयको अनुपम क्षणमा सुनौलो घामका किरणले हिमाललाई सुमसुम्याउँदा मनमा अत्यन्तै आनन्द छायो । कञ्चनजङ्घा हिमाल हाम्रो स्वागतार्थ टाढाबाटै मुस्कुराइरहेको थियो । प्रकृतिको त्यो सम्मोहक सुन्दरतामा पहिलो पटक रमाइरहेकी थिएँ म ।
विश्वप्रसिद्ध दार्जिलिङ बतासिया लूप ! गोलो घुम्ती रेलमार्गले मलाई जीवनको चक्र सम्झायो । उतारचढावले भरिएको तर निरन्तर अगाडि बढिरहेको । वरिपरि ढकमक्क फुलेका फूल र बिचको सहिद स्मारकले गर्व र सौन्दर्यलाई एकै ठाउँमा उभ्याएका थिए । ‘दार्जिलिङको घुम्तीमा घुम्यो रेल, माया भन्ने साह्रै गाह्रो पिरतीको खेल’ । आहा ! घुम्ती बाटो अनि बाटोको भित्तामा रेलको लिक । साना डिब्बा, धुवाँ उडाउँदै कुद्ने ‘ट्वाई ट्रेन’ गाडी र सानो रेल एकैसाथ साथीभाइ बनेर पो गुड्दा रहेछन् । आश्चर्यचकित भयौँ हामी ।
लाहुरे दाइले बिदामा लिए सानो रेलमा चढेर
कान्छीनानी रुन्छिन् सम्झना कोसेली दिएर
यही गीत गुनगुनाउँदै र आपूm पनि त्यही सानो रेलमा नै चढेर बिस्तारै पहाडका घुम्ती पार गर्दै गरेका पर्यटकसँगै म पनि रेलको सिटी र झ्यालबाट देखिने हरियाली दृश्यावलोकनको कल्पना सागरमा चुर्लुम्मै डुबेकी थिएँ ।
अर्को स्टेसन थियो, दार्जिलिङको चियाबारी । ह्याप्पी भ्याली टी गार्डेन ! “ल, यता आउनुहोस् ! चिया चाख्नुहोस् ! मन परे लिएर पनि जानुहोस् !” आहा ! कति मिठो आवाजमा विज्ञापन गरिरहेका, ससाना झुपडीमा ! सुरुमा स्वर्गकै टुव्रmा जस्तै लाग्ने चिया बगान डुल्यौँ । हरिया चियाका बुट्यानबिच रङ्गीचङ्गी पोसाकमा सजिएर फोटा खिचाउने जोडाजोडी देखेर मन लोभिनसम्म लोभियो मेरो । केही साथी र विद्यार्थीले पनि सजिएर फोटो खिचाए । म भने बरु त्यहीँ काम गरिरहेका मजदुरको मुस्कानमा लट्ठिएर साथीहरूलाई पर्खिबसेँ । अनि जीवनमा पहिलो पटक आफूले हेरेको सिनेमा ‘लाहुरे’ को ‘चियाबारीमा हो चियाबारीमा’ गीतमा ती चियाका पात टिपेर डोकामा राख्दै नाचेका सम्पूर्ण दृश्य आँखामा झलझलाकार भएर आए । त्यही सिनेमाका कलाकार जस्तै लागिरहेका थिए आफ्नै साथीहरू पनि । फर्किएर त्यहीँको ताजा चिया चाख्यौँ र इच्छा अनुसार चियाका प्याकेट बोकेर गाडी चढ्यौँ ।
हाम्रा पाँचै वटा गाडी हिमालयन जु पार्कछेउमा रोकिए । ढिलो नगरीकन हामी पार्कतर्फ लाग्यौँ । प्रकृतिको काखमा लुकेको यस पार्कको खुड्किला उक्लिँदा चिसो हावासँगै सल्ला र देवदारका अग्ला रुखले हात हल्लाइहल्लाई हामीलाई स्वागत गरिरहे झैँ लाग्थ्यो । रातो पान्डा लजालु चालमा खेलिरहेका थिए । हिउँचितुवा आफ्नै तालमा थिए । चौँरीगाई आआफ्ना बाच्छासहित चमर हल्लाउँदै हिँडिरहेका थिए । हेर्दाहेर्दै तीन वटा हिमालयन भालुको उपस्थितिले हामी हच्कियौँ । आफैँतिर आइरहेका तिनीहरूलाई धन्न ठुलो नालाले घेरिएको हुनाले खाल्डो देखेर बिस्तारै फर्किएर गएँ । केटाकेटी रमाउँदै थिए । मैले पनि पहिलो पटक यति नजिकैबाट भालुलाई नियाल्ने मौका पाएकी थिएँ । यहाँ तिब्बती ब्वाँसोलाई प्राकृतिक वातावरणमै संरक्षण गरिएको रहेछ । मैले काठमाडौँको सदर चिडियाखाना सम्झिएँ र तुलना गरेँ, वन्यजन्तुहरूलाई सीमित घेरामा राखिंँदाका तिनका छटपटी र आव्रmोश अनि यहाँको खुला र स्वाभाविक वासस्थानमा राखिएका जनावरका चालढाल ! आहा ! आकाश जमिनको फरक ! सबैलाई स्वतन्त्र वातावरणमा विचरण गर्न नै मन पर्ने । प्रकृतिको हरियालीले ढाकिएको वनको शान्त वातावरण, विभिन्न चराचुरुङ्गीको मनमोहक आवाज, टाढा देखिने गजधुम्म हिमशृङ्खलाको सौन्दर्यले मनलाई त्यसै त्यसै हराभरा बनाइदियो । वन्यजन्तु र प्राकृतिक दृश्यको यस्तो सुन्दर सङ्गमस्थललाई अँगालोमै बाँधिराख्ने रहर हुँदाहुँदै पनि अर्को स्थानतर्फ लाग्नुपर्ने बाध्यताले छोप्यो हामीलाई र मनभरि त्यहाँका सौन्दर्यलाई साँची बाटो लाग्यौँ ।
आँखा र मन अघाउँदै थिए । पेट चारोको खोजीमा थियो । दार्जिलिङको पहाडी इलाकामा पर्ने चिसो हावापानीमा पाकेको थपी थपी ग्रहण गरिएको तात्तातो भोजनले घरकै सम्झना गरायो ।
अब जानुपर्ने स्थान थियो तेन्जिङ नोर्गे सङ्ग्रहालय । हामीले बाटोमा नै देखिसकेका थियौँ तेन्जिङ नोर्गेले सगरमाथामा पाइला टेक्नुअगाडि प्राक्टिस गरेको ठुलो र अग्लो ढुङ्गा । बारम्बार त्यसै अजङ्गको चुचुरो परेको ढुङ्गामाथि चढ्ने प्रयास गरिरहन्थे रे उनी । उनको त्यही अथक साधनाले नै एकदिन विश्वमा नयाँ इतिहास रचेको थियो । तेन्जिङ नोर्गेलाई मनैमनले सलाम गरेँ ।
सङ्ग्रहालयभित्र प्रवेश गर्नासाथ तेन्जिङ नोर्गेको जीवनगाथा आँखाअगाडि जीवित भएर आयो । भित्ताभरि सजिएका तस्बिर, काँचभित्र राखिएका उनले सगरमाथा चढ्दा प्रयोग गरेका सामग्री पुराना जुत्ता, डोरी, आइस एक्स अनि पदकहरू, तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीसहितका आरोहण टोलीका ऐतिहासिक तस्बिरहरू, कथाहरू र आरोहणका कठिनाइबारे जानकारी दिने खालका पर्वतारोहणका सामग्रीले मौन रूपमा साहस र सङ्घर्षको कथा सुनाइरहेका थिए । त्यतिबेला न कुनै उन्नत प्रविधि थियो न त आधुनिक सुविधा । मुस्किल नै मुस्किलले जेलिरहेको समय थियो त्यो ।
सन् १९५३ को त्यो रोमाञ्चक ऐतिहासिक क्षण सम्झिँदा मन आफैँ रोमाञ्चित भयो । त्यतिबेला न कुनै उन्नत प्रविधि थियो न त आधुनिक सुविधा । मुस्किल नै मुस्किलले जेलिरहेको समय । कति कठिन थियो होला त्यो यात्रा ! जसको कल्पना गर्नसम्म आफूलाई सयौँ पटक सोच्न बाध्य बनाउँछ । उनीभित्रको अडिग साहस र अटल आत्मविश्वासले गर्दा सगरमाथाको शिखरमा पाइला राखी उभिएका उनको तस्बिरका सामुन्ने उभिएँ म । उनका आँखामा जुधेका थिए मेरा आँखा । उनको साहसिक कदमको सम्मानस्वरूप रसाए मेरा आँखा । उनको आँखाको उज्यालोले अनुहारको थकानलाई सहजै ओझेल पारिदिएको थियो । हामी सङ्ग्रहालयबाट बाहिरिँदै थियौँ, त्यहाँको हावामा अब चिसोपन मात्र होइन, साहसको सुगन्ध पनि मिसिएको थियो । हावाले भनिरहे झैँ लाग्थ्यो– सङ्घर्षको बाटो जति कठिन भए पनि लक्ष्य असम्भव हुँदैन ।
घुम मठबाहिरका घुम्तीहरूदेखि नै बौद्ध भिक्षुका सङ्गीतमय वाणी र घन्टीका मधुर ध्वनि गुञ्जायमान थिए । भित्र पसेर बुद्धको विशाल मूर्तिसामु उभिँदा मनमा रहेका सारा वेदना एकाएक हराएर गए झैँ भयो । अघिसम्मका सबै छटपटी र हतार एकैछिनका लागि रोकिए । त्यहाँ चारैतिर स्थिर र गहिरो शान्ति छाएको थियो ।
यात्री कहाँ एकै ठाउँमा अडिरहन सक्थे र ? हामी केहीबेरमा निस्किहाल्यौँ ।
दार्जिलिङको बजारमा घुम्दा स्थानीय संस्कृति, नेपाली भाषाको प्रयोग र आतिथ्यले मन छोयो । साना गल्ली, हातले बुनेका कपडा र स्थानीय परिकारको सुवासले यात्रा अझै स्मरणीय बनाइरहेको थियो । हामीले आफूलाई मन परेका केही सामानहरू किन्यौँ ।
यो यात्रा केवल स्थानहरूको भ्रमण मात्र थिएन । यो त प्रकृति, संस्कृति र भावनासँगको मिठो साक्षात्कार थियो । दार्जिलिङको एकदिने घुमाइले सौन्दर्य केवल आँखाले देख्ने मात्रै होइन, हृदयले अनुभूति गर्ने कुरा रहेछ भन्ने सिकायो ।
यहाँ इतिहास रचेको थियो । तेन्जिङ नोर्गेलाई मनैमनले सलाम गरेँ ।
सङ्ग्रहालयभित्र प्रवेश गर्नासाथ तेन्जिङ नोर्गेको जीवनगाथा आँखा अगाडि जीवित भएर आयो । भित्ताभरि सजिएका तस्बिर, काँचभित्र राखिएका उनले सगरमाथा चढ्दा प्रयोग गरेका सामग्री पुराना जुत्ता, डोरी, आइस एक्स अनि पदकहरू । तेन्जिङ नोर्गे र सर एडमन्ड
हिलारीसहितका आरोहण टोलीका ऐतिहासिक तस्बिर, कथा र आरोहणका कठिनाइबारे जानकारी दिने खालका पर्वतारोहणका सामग्रीले मौन रूपमा भए पनि साहस र सङ्घर्षको कथा सुनाइरहेका थिए ।
दार्जिलिङको बजारमा घुम्दा स्थानीय संस्कृति, नेपाली भाषाको प्रयोग र आतिथ्यले मेरो मनमा गहिरो छाप पारिदियो । हातले बुनेका बुट्टेदार स्विटर, ओढ्ने र गलबन्दीले साना गल्ली नै झकिझकाउ देखिन्थे । स्थानीय परिकारको मगमग सुवासले जिब्रो नै रसाइरहेको थियो । यात्रालाई अझै स्मरणीय बनाइरहेको थियो । हामीले आफूलाई मन परेका सामान किन्यौँ । यो यात्रा केवल स्थानको भ्रमण मात्र थिएन, यो त प्रकृति, संस्कृति र भावनासँगको मिठो साक्षात्कार थियो । दुई देशका नेपालीको आत्मालाई एकाकार तुल्याइदिने बलियो माध्यम थियो । दार्जिलिङको एकदिने घुमाइले मलाई ‘सौन्दर्य केवल आँखाले देख्ने मात्रै होइन, हृदयले अनुभूति गर्ने कुरा रहेछ’ भन्ने सिकायो– बुझायो ।
मलाई धीरधाम पुगेर नेपाली आख्यान साहित्यका स्वनामधन्य साधक लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यासका नायक लङ्गडा र उनको साथी काले कुकुर घुम्ने गरेको त्यो धीरधामको माटोको स्पर्श गर्न मन थियो । काले कुकुर र लङ्गडाको अस्थिपञ्जर जोडिएको अवस्थामा फेला परेको थलो पनि हेर्ने इच्छा थियो । चौरस्ता पुगेर आदिकवि भानुभक्तको प्रतिमामा हृदयभरिको सम्मान अर्पण र ढोग्न आतुर थियो मेरो मन । मन त अभैm थियो सुधपाद्वारा स्थापनार्थ नेपाली साहित्य सम्मेलन दार्जिलिङ नामक संस्थाको आँगनमा टेकी आफूलाई धन्य तुल्याउने । दार्जिलिङको भूगोल, प्रकति र परिवेशमा आधारित भएर भारतीय नेपाली जनजीवनका कथाव्यथा सजीव रूपले प्रस्तुत गरी नेपाली भाषा र वाङ्मयको सेवामा जीवन समर्पण गर्ने यशस्वी स्रष्टा इन्द्रबहादुर राईको जन्मस्थान वलासुन चिया बगानको पनि परिव्रmमा गर्ने तर आपूm ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भने भैmँ समय र परिस्थितिलाई मेरो सुकुमार हृदयको पुकार स्वीकार भएन ।
निकै छोटो भए पनि यो यात्रा केवल स्थानको भ्रमण मात्र थिएन, यो त प्रकृति, संस्कृति र भावनासँगको मिठो साक्षात्कार थियो । समयको पावन्दी र फर्किने हुटहुटीले गर्दा मेरा सारा रहर अधुरै रहे । यी पवित्र ठाउँमा मनमुटु रित्याएर लुटुपुटिने अधुरा मनोकाङ्क्षालाई गोल्याँसो पारी म गाडी चढेँ पहाडकी रानी ! सपनाकी रानी दार्जिलिङसँग माफी माग्दै ।
प्रिय दार्जिलिङ ! मेरा असङ्ख्य रहर यसपालि अधुरै रहन पुगे । मलाई क्षमा गर, कालले साँचिराखेछ भने समयले पर्खिदिएछ भने र शरीरले साथ दिएछ भने र म फेरि फेरि आउनेछु तिम्रो चिसो सासमा आफ्ना ताता सुस्केरा मिसाउन, तिम्रो मायालु अँगालोमा बेरिन, तिम्रो पवित्र पाउमा लुटपुटिन, तिम्रो आँचलमा गुटुमुटिएर मस्त निदाउन र तिम्रो श्वासप्रश्वाससित एकाकार हुन् । त्योबेला पटक अहिले जस्तै हतारैहतारमा अधुरा सपनाको भारी बोकेर होइन, आत्मसन्तोषले भरिपूर्ण भएर फर्किने छु म । प्यारो दार्जिलिङले प्रत्युत्तरमा मलाई भन्यो, “माया नमार है सानी ! साँच्चै फर्केर आउनू नि ! तिम्रा माइतघरका हरिलाई पनि साथै लिएर लक्ष्मीपूजाको झिलिमिली बत्ती हेर्न आउनू । ओठे माया मात्र नदेखाउनू । म छातीभरि मायैमाया उरालेर तिमीलाई पर्खिरहनेछु ।” त्यसपछि अधीर मन लिएर गाडीमा बसेँ म । पहाडी घुम्ती पछाडि छुट्दै गए, कुहिरोले हात हल्लाउँदै बिदा दियो । गाडीभित्र मधुर स्वरमा गीत बजिरहेको थियो– ‘दार्जिलिङको घुम्तीमा घुम्यो रेल, साह्रै गाह्रो हुँदोरहेछ पिरतीको खेल ।’ गीतसँगै मेरो मन पनि घुम्ती घुम्तीमा अड्किरह्यो । रेलको झ्यालबाट आँखाले भ्याउन्जेल नियाल्दै मेरो भावविह्वल मनले दार्जिलिङलाई अन्तिम पटक सम्बोधन ग¥यो, “स्नेहालु दार्जिलिङ ! तिमी मेरो जीवनको मोहनीदार अध्याय बनेर स्मृतिमा सदैव जीवित रहने छौ ।”