भरतपुर, चैत २९ गते । गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।
आज भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिनुभएको हो ।
मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गर्नुभयो । उहाँले शनिबार राति नारायणगढ–मुग्लिन सडकखण्डका पहिरोगूस्त क्षेत्र घोप्टेभिर, तुइन खोलालगायतको अवलोकन गर्दै वर्षायाममा समस्या नदोहोरिने गरी छिटो काम गर्न निर्देशन दिनुभएको थियो ।
गृहमन्त्री गुरुङ आज पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निरीक्षण गर्न नवलपरासीपूर्व प्रस्थान गर्नुभएको छ । रासस