सिराज खान
नेपालगन्ज, चैत ३० गते । बाँके निर्माण व्यवसायी सङ्घले अमेरिका र इरानबिचको युद्धका कारण डिजेल, पेट्रोल, मट्टीतेल लगायतका इन्धन सामग्रीमा अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धि हुँदा निर्माण उद्योगहरू ठप्प हुने स्थितिमा निर्माण उद्योगमा आपातकाल घोषणा गरेर व्यवसायीलाई राहात दिन सरकारसँग माग गरेको छ ।
बाँके निर्माण व्यवसायी सङ्घले प्रेस बिज्ञप्ति जारी गर्दै सोतर्फ सरकारसहित सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको हो । इन्धनजन्य सामग्रीहरूसहित निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, छड, ढुङ्गा लगायतका निर्माण सामग्रीको समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको जनाएको छ ।
सङ्घका द्वितिय उपाध्यक्ष पूर्णबहादुर रानाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमार्फत इन्धनसहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि र उपलब्धताको अभावले निर्माण व्यवसायीमा ठुलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा आपतकाल घोषणा गरी व्यवसायीलाई अविलम्ब राहत दिन सङ्घले जोडदार माग गरेको छ ।
निर्माण उद्योगको विषम परिस्थितिको विषयमा निर्माण व्यवसायी महासङ्घको केन्द्रिय कार्यालयले पटक–पटक नेपाल सरकार लगायतको निकायमा पहल गर्दा समेत समस्या समाधान हुन नसक्नु दुखद भएको विज्ञप्तिमा जनाइएको छ ।
ठेक्काको मूल्य समायोजन राष्ट्र बैँकको मूल्य सूचकाङ्क अनुसार हुने भएता पनि बजारमा निर्माण सामग्रीहरूको अत्यधिक मूल्यवृद्धि हुँदा समेत राष्ट्र बैँकको सूचकाङ्कमा उक्त सामग्रीहरूको मूल्य घटेको देखाउने प्रवृत्तिका कारण निर्माण उद्योगमा थप सङ्कट देखिएको सङ्घका द्वितीय उपाध्यक्ष रानाले बताउनुभयो ।
उहाँले प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुसार हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजन मार्ग निर्देशिका–२ तत्काल जारी गरी सबै अवरुद्ध ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीको समस्या तुरुन्त समाधान गर्न सरकारसँग माग गरिएको बताउनुभयो ।