काठमाडाैं, चैत ३० गते । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
भेटमा सभामुखले डिजिटलाइजेशन तथा ई-पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने उल्लेख गर्नुभयो ।
यस्तै, यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरेको छ । साथै डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदानप्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाउनुभयो ।
सभामुखले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिनुभयो । उक्त भेटमा संघीय संसद सचिवालयका सचिव डा रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए ।