• ३० चैत २०८२, सोमबार

सीमामा प्रहरीको कडाइ : विराटनगरबाट ११ लाख बढीका अवैध सामान बरामद

blog

खेमराज सापकोटा

रानी, चैत ३० गते । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी पैठारी नियन्त्रणतर्फ मोरङ प्रहरीले सक्रियता बढाएको छ । यही क्रममा विराटनगरबाट ११ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ ।

आइतबार दिउँसो र राति छुट्टाछुट्टै समयमा भारतबाट भन्सार छली गरेर ल्याइएका कपडा र हरियो मटर प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा प्रयोग गरिएका दुई वटा टेम्पोसहित सामान बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका टेम्पोलाई विराटनगर महानगरपालिका–६ क्षेत्रबाट शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको थियो । खानतलासीका क्रममा बिलबिनाका विभिन्न प्रकारका लत्ताकपडा र हरियो मटर फेला परेको हो । प्रहरी पुगेपछि चालकहरू भने टेम्पो छाडेर फरार भएका थिए ।

बरामद सामानमा कुर्ता–सलवार, लेडिज टप्सलगायत महिला, पुरुष र बालबालिकाले प्रयोग गर्ने कपडाका विभिन्न सामग्री रहेका छन् । टेम्पोसहित सामानको कुल भन्सार मूल्यांकन ११ लाख ११ हजार ५ सय ५५ रुपियाँ गरिएको छ । 

नियन्त्रणमा लिइएका सवारीसाधन र सामानलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । फरार चालकहरूको खोजी कार्य पनि तीव्र बनाइएको लामिछानेले जानकारी दिनुभयो । 

मोरङ प्रहरीले चैत महिनामा मात्रै १ करोड ५५ लाख ४५ हजार २०८ रुपियाँ बराबरका तस्करीका सामान बरामद गरेको जनाएको छ । सो अवधिमा मोटर पाट्र्स, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर सामग्री, पेय पदार्थ, मरिच र बेसारलगायतका वस्तु नियन्त्रणमा लिइएका छन् ।