सुजन बज्राचार्य
संखुवासभा, चैत ३० गते । तराईका जिल्लाहरूमा बर्ड फ्लुको संक्रमण फैलिँदै गएको अवस्थामा संखुवासभामा लुकाइ भित्र्याइएका कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाले अवैध रूपमा भित्र्याइएका ४ हजार १ सय बोइलर कुखुराका चल्ला सोमबार सदरमुकाम खाँदबारीमा नष्ट गरेको हो।
जिल्ला प्रशासन कार्यालयले संक्रमण नियन्त्रणका लागि तराई क्षेत्रबाट कुखुरा तथा चल्लाको ओसारपसारमा रोक लगाएको अवस्थामा उक्त चल्ला भित्र्याइएको पाइएको केन्द्रले जनाएको छ ।
विज्ञ केन्द्रका प्रमुख हिमालय पोखरेलका अनुसार आइतबार प्र–१–०२०० क ४९३२ नम्बरको सवारीसाधनमार्फत चल्ला ल्याइएको सूचना पाएपछि जिल्लाको दक्षिणी नाका केवाबेसीमा प्रहरीले जाँच गर्ने क्रममा चल्ला बरामद गरेको थियो ।
नियन्त्रणमा लिइएका चल्लालाई सोमबार जिल्ला प्रशासन कार्यालय संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य तथा सञ्चारकर्मीहरूको उपस्थितिमा खाल्डो खनी पुरेर नष्ट गरिएको हो ।
मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकास्थित भिजु पोल्ट्री फर्मबाट चल्ला ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त क्षेत्रमा पन्छीमा बर्ड फ्लुको संक्रमण देखिएको सूचनापछि सरकारले ओसारपसारमा रोक लगाएको थियो । सोही प्रतिबन्धको उल्लङ्घन गर्दै लुकीछुपी चल्ला भित्र्याइएकाले संक्रमण फैलिन नदिन तत्काल नष्ट गरिएको प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
सम्बन्धित निकायले अवैध रूपमा पशुपन्छी ओसारपसार नगर्न आग्रह गर्दै नियम तोड्नेहरूमाथि कडा कारबाही गरिने जनाएको छ ।