प्रतीक इच्छुक शर्मा
सल्यान, चैत ३० गते । नयाँ वर्ष २०८३ को अवसर पारेर सल्यानको कपुरकोट गाउँपालिकामा तीन दिने काफल मेला तथा वृहत मौलिक सांस्कृतिक उत्सव सुरु भएको छ।
प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले बाजागाजा तथा सांस्कृतिक र्यालीसहित उत्सवको उद्घाटन गर्नुभएको हो ।
उत्सवको पहिलो दिन विभिन्न वडाबाट आएका टोलीहरूले नौमती बाजासहितका नाच तथा परम्परागत पैसरी नाच प्रस्तुत गरेका थिए । स्थानीय कला, संस्कृति र भेषभूषा झल्काउने झाँकीहरूले कार्यक्रम स्थल आकर्षक बनेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद मल्लले यस्ता उत्सवले स्थानीय पहिचान, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले लोपोन्मुख परम्परागत कला र संस्कृतिको पुनर्जीवन तथा नयाँ पुस्तामा यसको महत्वबारे जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले काफल जस्तो स्थानीय उत्पादनसँग जोडिएको उत्सवले आर्थिक गतिविधि चलायमान बनाउने र लोकसंस्कृति संरक्षणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कपुरकोट गाउँपालिका–४ का वडाध्यक्ष मित्र कठायत, वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठक, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लिराज रावत तथा सल्यान उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष पवन कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काफल मेला अन्तर्गत मंगलबार र बुधबार विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । जसअन्तर्गत कलाकारहरू बद्री पंगेनी, कमल बिसी, आरुसी मगर, शुसिला थापा, दीपक वलीलगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको सल्यान मिडिया हाउसका अध्यक्ष चुडामणी पिएमले जानकारी दिनुभयो ।
कपुरकोट क्षेत्रमा पाइने काफलको प्रवद्र्धन, स्थानीय पहिचानको विस्तार तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो । गर्मीयाममा शीतल र प्राकृतिक सौन्दर्यले भरिपूर्ण कपुरकोट क्षेत्रमा सल्यानसहित दाङ, बाँके र बर्दियालगायत जिल्लाबाट पर्यटक आकर्षित हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।बुधबारसम्म सञ्चालन हुने उक्त उत्सव सल्यान मिडिया हाउसले आयोजना गरेको हो ।