• ३० चैत २०८२, सोमबार

‘महिला सशक्तीकरण र समावेशितामा जोड’

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत ३० गते । नेपाली कांग्रेसको राजनीतिमा दशकौँसम्म सक्रिय भएर काम गरेकी मोरङ विराटनगरकी नेतृ रुक्मिणीदेवी कोइराला यस पटक समानुपातिक सांसदमा निर्वाचित हुनुभएको छ । 

उहाँ नेपाली कांग्रेस पार्टीका तर्फबाट यसअघिका दुई निर्वाचनमा पनि समानुपातिक उमेदवारको बन्दसूचीमा पर्नुभएको थियो । यस पटक भने पार्टीले उहाँलाई खसआर्य समुदायको महिलातर्फबाट सांसद चयन गरेको छ । 

तेस्रो प्रयासमा सांसद बन्नुभएकी कोइराला भन्नुहुन्छ, “यो उपलब्धि रातारात प्राप्त भएको होइन । नेपालको प्रजातान्त्रिक आन्दोलनको झन्डै शताब्दी लामो इतिहास बोकेको नेपाली कांग्रेसमा मैले आधा शताब्दी राजनीतिक योगदान गरेपछि त्यसको मूल्याङ्कन बल्ल भएको मात्र हो ।” 

२०३६ सालको जनमत सङ्ग्रहदेखि नै लोकतन्त्रको पक्षमा उभिनुभएका कोइराला सुरुका दिनमा पार्टीको औपचारिक सदस्यता नलिई पार्टी गतिविधिमा होमिनुभएको थियो । पञ्चायतविरोधी गतिविधिमा संलग्न हुँदै जाँदा उहाँ तत्कालीन सत्ताको निगरानीमा पर्नुभयो । उहाँको घर पटक पटक घेराउ भयो । २०४६ सालको जनआन्दोलनसम्म आइपुग्दा उहाँ पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा स्थापित भइसक्नुभएको थियो । आन्दोलनका व्रmममा उहाँले प्रहरी दमन र गिरफ्तारीसमेत भोग्नुभयो ।

उहाँ नेपाल महिला सङ्घमा आबद्ध हुनुभयो । मोरङ जिल्ला सचिवदेखि जिल्ला सभापतिसम्मको जिम्मेवारी समालेकी कोइरालाले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्नुभयो । नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहँदा महिला कार्यकर्तालाई सङ्गठित गर्न देशभर पुग्नुभयो । 

राजाको प्रत्यक्ष शासनकालमा भएको आन्दोलनमा दुई महिना थुनामा बसेकी उहाँले त्यसबेला आन्दोलनमा निस्किने महिला थोरै हुने गरेको बताउनुभयो । २०६२/६३ को जनआन्दोलनमा पनि अग्रपङ्क्तिमा उत्रिनुभएका उहाँ पटक पटक पक्राउ पर्नुभयो तर आफ्नो अडानबाट पछि हट्नुभएन ।

रुपन्देहीमा विसं २०१२ भदौ १७ गते मरासिनी परिवारमा जन्मेकी उहाँको प्रारम्भिक शिक्षा भारतको सिलोङमा सम्पन्न भयो । बुवा उतै जागिरे हुनुहन्थ्यो । बुवासँगै बसेर उतै स्नातक तहको अध्ययन गरेकी कोइराला अध्ययनपछि नेपाल फर्किनुभयो । २०२९ सालमा विराटनगरका नन्दन कोइरालासँग विवाह भएपछि समाजसेवा र राजनीतिमा सक्रिय कोइराला नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो ।

विगतमा पार्टीभित्रको शक्ति सन्तुलनका कारण योग्यता र क्षमता पुगे पनि उहाँले संसद् प्रवेशको अवसर पाउनुभएन । नोना कोइरालाको प्रेरणाबाट राजनीतिमा जोडिए पनि रुक्मिणी देवीले बारम्बार सांसद हुने अवसर गुमाउनुभयो । उहाँले भन्नुहुन्छ, “अब संसद्मार्फत नागरिक अधिकार सुरक्षित गर्ने  र महिला अधिकारका मुद्दालाई सशक्त बनाउने छु ।”

उहाँले २०७२ को संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहमा महिला र दलित महिलाको प्रतिनिधित्व सकारात्मक भए पनि प्रमुख पदमा समेत निश्चित प्रतिशत सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उहाँले महिलालाई अरूले दिएको भाग खाने ठाउँबाट भाग लगाउने ठाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । आफू समानुपातिक सांसदका रूपमा संसद् प्रवेश गरेकाले कुनै निर्वाचन क्षेत्रका विकासनिर्माणका मुद्दामाभन्दा कानुन निर्माणमा केन्द्रित रहने उहाँको भनाइ छ । सांसद कोइरालाले भन्नुभयो, “हामीसँग उत्पादन भएका कृषिउपजलाई प्रशोधन गर्ने र निर्यात गर्ने हो भने आर्थिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।” 

आधारभूत शिक्षा र स्वास्थ्य सर्वसाधारणको पहुँच बाहिर पुगिसकेको आमगुनासो छ । सडक, पूर्वाधार, बिजुली र सञ्चार मात्रै विकास होइन । मानव संसाधनको अवस्था कस्तो छ, त्यो महìवपूर्ण विषय हो । राज्य सञ्चालन प्रणालीमा सुधार नगरी सुशासन सम्भव छैन । कुनै पनि निर्णय गर्नुभन्दा पहिले त्यो निर्णयले पार्ने सकारात्मक र नकारात्मक असरका विषयमा सरकारले विज्ञ र सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । महिला सशक्तीकरण र समावेशितालाई अझ सशक्त बनाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले समानुपातिक र समावेशिताले सबै वर्ग, जात र समुदायलाई राज्यको मूलधारमा ल्याउन सक्नुपर्ने बताउनुभयो ।