• २९ चैत २०८२, आइतबार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

blog

मधेश प्रदेशबाट राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा छनोट भएका खेलाडीहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत २९ गते । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको मिथिला नगरपालिकाभित्रका ६ जना खेलाडी छनोटमा परेका छन् ।

सीमित स्रोतसाधनका बीच पनि स्थानीय खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि स्थानीयमा खुशी छाएको छ । धनुषा हक्की सङ्घका सचिव दिवेशकुमार महतोका अनुसार मधेश प्रदेशबाट छनोट भएका नौ खेलाडीमध्ये छ जना मिथिला नगरपालिकाका छन् । बाँकीमध्ये दुई जना जनकनन्दनी गाउँपालिकाका र एक जना पर्सा जिल्लाका खेलाडी रहेका छन् ।

मिथिला नगरपालिकाबाट छनोट हुनेमा शर्मिला यादव, लक्ष्मिनियाँ कुमारी, मधुकुमारी साह, रोशन यादव, पुरुषोत्तम महतो र उमेश श्रेष्ठ रहेका छन् । त्यसैगरी जनकनन्दनी गाउँपालिकाबाट आशिका मण्डल र अङ्किता मुखिया तथा पर्साबाट मकेश्वर साह छनोटमा परेका छन् ।

छनोट भएका महिला हक्की खेलाडी भारतको लखनउमा आयोजना हुने नेपाल–इन्डो हक्की प्रतियोगितामा सहभागी हुने जनाइएको छ । उक्त प्रतियोगितामा भारतका छ टोली र नेपालसहित कुल सात टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

सचिव महतोले खेल सामग्री तथा पूर्वाधारको अभावका बाबजुद मिथिला नगरपालिकाबाट राष्ट्रिय टोलीमा उल्लेख्य सङ्ख्यामा खेलाडी छनोट हुनु गर्वको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, स्रोतसाधनको कमी हुँदाहुँदै पनि खेलाडीको लगनशीलता, मेहनत र परिश्रमकै कारण राष्ट्रिय टोलीको पर्न सकेको हो ।’

मिथिला नगरपालिका–२, नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा विगत पाँच वर्षदेखि महिला तथा पुरुष हक्की खेलाडी नियमित अभ्यास गर्दै आएका छन् । तर, खेल सामग्री र  खेलमैदानको स्तरउन्नतितर्फ जनप्रतिनिधिको ध्यान पुग्न नसकेको उहाँले गुनासो सुनाउनुभयो ।