तेहरान, चैत २८ गते । लामो समयदेखि अशान्त रहेको मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता सुरु भएको छ ।
इरानी सञ्चारमाध्यमहरूले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार दुई देशबीचको यो संवादलाई क्षेत्रीय शान्ति स्थापनाका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
इरानका प्रभावशाली समाचार संस्थाहरू फार्स र तस्निमले आधिकारिक स्रोतलाई उद्धृत गर्दै वार्ताको प्रक्रिया र एजेण्डा तय गर्न प्रारम्भिक छलफल भइसकेको जनाएका छन् ।
विशेषगरी लेबनानको दक्षिणी बेरुतमा इजरायली सेनाको आक्रमणमा कमी आएपछि दुवै पक्ष वार्ताको टेबलमा बस्न सहमत भएको बताइएको छ । यस सकारात्मक प्रगतिसँगै औपचारिक रूपमा वार्ता अघि बढाउने निर्णय भएको ती सञ्चारमाध्यमको दाबी छ ।
यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले पनि इस्लामावादमा शान्ति वार्ता सुरु भएको पुष्टि गरेको छ । इरानका अन्य समाचार निकायहरू मेहर र इस्नाले समेत वार्ता प्रक्रिया अघि बढेको समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।
मध्यपूर्वमा बढ्दो तनावलाई कूटनीतिक माध्यमबाट समाधान गर्न यो वार्ताले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । (रासस/एएफपी)