• १९ वैशाख २०८३, शनिबार

असहाय बालबालिकालाई सहयोग सामग्री वितरण

blog

बालगृहका बालबालिकालाई सामग्री वितरण गर्दै । तस्बिर : नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), वैशाख १९ गते ।
२५७०औँ बुद्ध जयन्तीको अवसरमा कपिलवस्तुस्थित एक बालगृहमा आश्रित बालबालिकालाई सहयोग सामग्री वितरण तथा भोजन कार्यक्रम आयोजना गरिएको छ ।

प्राचीन कपिलवस्तु बचत समूह, सिद्धार्थटोल तौलिहवाको आयोजनामा सम्पन्न कार्यक्रममा बालगृहमा रहेका ३२ जना असहाय बालबालिकालाई ब्याग, खेलकुद तथा स्टेशनरी सामग्री, झुललगायतका सामग्री वितरण गर्नुका साथै भोजन गराइएको हो ।

कार्यक्रममा नगर प्रमुख सुदीप पौडेलले बुद्धका उपदेशलाई व्यवहारमा उतार्दै मानव सेवामा अग्रसर हुनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले सामाजिक सद्भाव र सहकार्यलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।

लुम्बिनी विकास कोषका पूर्व कार्यकारिणी सदस्य राजेश ज्ञवालीले असहाय तथा विपन्न बालबालिकाको संरक्षणमा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षा र अवसरको पहुँच विस्तारका लागि यस्ता पहल निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकारकर्मी रविन्द्रनाथ ठाकुरले प्रत्येक बालबालिकाको अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले असहाय बालबालिकालाई संरक्षण र अवसर प्रदान गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल–भारत मैत्री संघ, रोयल थाई मोनास्ट्री लुम्बिनी, लुम्बिनी स्वर्णभूमि फाउन्डेसन नेपाल, वाट थाई कपिलवस्तु निग्रोधाराम नेपाल, सारिपुत्र फाउन्डेसन तथा नेपाल अर्बुद रोग निवारण संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

समूहकी अध्यक्ष अञ्जना खत्री ज्ञवालीको अध्यक्षता तथा टीका भट्टराई जोशीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा साहित्यकार हरिराज शर्मा, समाजसेवी गुणाखर गैह्रेलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन नम्रता ठाकुर अधिकारीले गर्नुभएको थियो ।