• २९ चैत २०८२, आइतबार

फोडिए सडकमा राखिएका घुम्ती ऐना

blog

कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार खण्डमा राखिएको फुटाइएको ऐना

कविराज घिमिरे 

हिले, चैत २९ गते । कोशी राजमार्ग अन्तर्गत धरान–धनकुटा–हिले सडकखण्डका घुम्तीमा राखिएका ट्राफिक ऐना तोडफोड भएका छन् ।

जोखिमयुक्त घुम्तीमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि जडान गरिएका ऐना तोडफोड भएका हुन् । धरानदेखि हिलेसम्म ६५ किलो मिटर भित्रका तीन दर्जन बढी कन्भेक्स ट्राफिक ऐना फुटेका छन् ।

धेरै स्थानमा ऐना अड्याइएका डण्डासमेत भाँचिदिएको स्थानीयले बताएका छन् । ऐना कस्ले किन फुटायो भन्ने जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ। अज्ञात व्यक्तिले कसैले नदेख्ने गरी फुटाउने गरेको जनाइएको छ ।

घुम्तीमा हुने जोखिम न्यूनिकरणका लागि स्थानीय क्लब तथा समूहले रकम सङ्कलन गरी घुम्तीमा विपरीत दिशाबाट आउने सवारी देख्न मिल्ने गरी सुरक्षा ऐना जडान गरेका थिए ।

कन्भेन्स प्रकारका यी ऐनाले फराकिलो दृश्य देखाउने भएकाले दुर्घटना रोकथाममा सहयोग पुग्दै आएको सवारी चालक देवी ओझा बताउनुहुन्छ ।

सवारी चालक ज्ञानबहादुर कटवालले ऐना हुँदा घुम्तीमा आउँदै गरेको सवारी पहिले नै देखेर सावधानी अपनाउन सकिने भए पनि अहिले गाडी चलाउन असहज भएको बताउनुहुन्छ ।

उक्त सडक खण्ड साँघुरो, मोड तथा उकालो ओरालो भएकाले दुर्घटनाको जोखिम हुने गरेको छ । सार्वजनिक सुरक्षासँग जोडिएको सामग्री तोडफोड गरिनुले दुर्घटना जोखिम बढाएको भन्दै सवारी चालक तथा स्थानीयले दोषीमाथि कारबाही र पुनः ऐना जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।