सिराज खान
नेपालगन्ज, चैत २८ गते । भारतीय उच्च सुरक्षा अधिकारीले यहाँस्थित नेपाल–भारत सीमा नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् । सीमावर्ती भारतीय जिल्ला बहराइँचमा सरुवा भएर आउनुभएका नयाँ प्रहरी प्रमुख एसपी विश्वजीत श्रीवास्तवले नेपाल–भारत नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको हो ।
पदभार सम्हालेपछि उहाँले आफूले पहिलो निरीक्षण र अनुगमन नेपाल–भारत सीमाबाट सुरु गरेको जनाउँदै एकातिर सुरक्षा व्यवस्था कडा पार्नु र अर्कोतिर दुबै देशका नागरिकलाई सहज रुपमा आवागमन गर्ने वातावरण बनाउनु सुरक्षा निकायको दायित्व भएकाले सोहीअनुसार गर्नुपर्नेमा जोड दिनुभयो ।
भारत सरकारले पनि सीमा क्षेत्रको सुरक्षा अवस्थालाई प्राथमिकतामा राखेको जनाउँदै उहाँले नेपाल–भारत नाकाको जमुनाहा बोर्डरसहित रुपैडिहा रुपइडीहास्थित एसएसबीको चेकपोष्ट र आदर्श थाना कोतवालीको पनि निरीक्षण गर्नुभयो ।
भारत बहराइँचका एसपी श्रीवास्तवले भारत–नेपाल सीमा संवेदनशील भएकाले यहाँको सुरक्षा व्यवस्था अझ मजबुत बनाइने जनाउँदै नेपाल मित्रराष्ट्र भएकाले आम नागरिकको आवत–जावत सहज बनाइने तर अवाञ्छित गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने बताउनुभयो ।
निरीक्षणको क्रममा उहाँले भारत–नेपाल अन्तर्राष्ट्रिय सीमासम्म पुगेर सुरक्षा अवस्थाको प्रत्यक्ष मूल्याङ्कन गर्दै सीमाबाट आवतजावत गर्ने व्यक्तिहरूको जाँच प्रक्रिया अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले थप सतर्कता अपनाउन निर्देशन दिनुभयो ।
सोही क्रममा उहाँले जमुनाहा नाकाका नेपाली सुरक्षा अधिकारीसँग पनि भेट गरेर उहाँहरुसँग सीमा सुरक्षाबारे संक्षिप्त कुराकानी गर्नु भएको भारत रुपैडिहाका पत्रकार सन्तोष शुक्लाले बताउनुभयो ।
अनुगमनको क्रममा रुपैडिहा प्रहरी थाना प्रमुख रमेशसिंह रावत, सशस्त्र सीमा बलका असिस्टेन्ट कमाण्डेन्ट सुनीलकुमार शान्ति लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति थियो ।
सोही अवसरमा नेपालतर्फका ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक किरण मल्ल तथा सशस्त्र प्रहरी बल बाँकेका के. भट्टको पनि उपस्थिति रहेको थियो ।
निरीक्षणका क्रममा एसपी श्रीवास्तवबाट सुरक्षा चेकजाँच र सर्वसाधारणको आवागमनको व्यवस्था सन्तोषजनक पाइएको प्रतिक्रिया आएको रुपैडिहका थाना प्रमुख रावतले बताउनुभयो ।