काठमाडौँ, चैत २९ गते ।वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना रहेको बताउनुभएको छ ।
वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सम्भावना हुँदाहुँदै पनि त्यसलाई अझै प्रारम्भिक चरणमै सीमित राखिएको बताउनुभयो । उहाँले विभागलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी कम्तीमा प्रि-क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो ।
उहाँकाअनुसार यस प्रकारको पहलले नेपाललाई औषधि उत्पादनको क्षेत्रमा नयाँ उचाईमा पुर्याउन सहयोग पुग्नेछ ।उहाँले विभागले विकास गरेका विभिन्न फर्मुलाहरूलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक उत्पादनमा लैजान सकिने बताउनुभयो ।
यसले राजश्व वृद्धिसँगै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा टेवा पुग्ने उहाँको भनाइ छ । अनुसन्धानमूलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिलाइ नगर्न आग्रह गर्दै मन्त्री चौधरीले वैज्ञानिकलाई प्रोत्साहन गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो।
वनस्पति तथा जडिबुटी क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।ग्रामीण क्षेत्रको गरिबी न्यूनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा जडिबुटी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने उहाँको विश्वास छ ।
सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासका लागि आवश्यक नीति, ऐन तथा कानूनी सुधार गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
उहाँले समयसापेक्ष सुधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने र अनुसन्धानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।साथै, युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवद्र्धनतर्फ आकर्षित गर्नुपर्ने आवश्यकता पनि उछाले औंल्याउनुभयो ।
उहाँले भन्नुभयो,“विभागले तयार गरेका विभिन्न फर्मुलाहरुलाई सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी व्यवसायिक उत्पादनमा लैजान सकिन्छ । यसले देशको राजश्व वृद्धिमा मात्रै होइन, स्वदेशमा नै उद्योग स्थापना र रोजगारी सिर्जना पनि योगदान पुर्याउछ । यस्ता अनुसन्धानमुलक उपलब्धिलाई प्रयोगमा ल्याउन ढिला गर्नु हुँदैन, साथै त्यस्ता कार्यमा योगदान दिने वैज्ञानिकलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । नेपालमा पाइने जडीबुटीबाट औषधी उत्पादनको ठूलो सम्भावना छ तर हामीले अझै प्रारम्भिक चरणमा सिमित राखेका छौँ । विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानहरू सहकार्य गरी कम्तिमा प्रि क्लिनिकल ट्रायलसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ । यसले नेपाललाई औषधी उत्पादनको क्षेत्रमा नयाँ उचाईमा पुर्याउन मद्दत पुर्याउँछ । हामीले वनस्पति क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारको रुपमा विकास गर्नुपर्छ ।यसले ग्रामीण क्षेत्रको गरिबी न्यूनिकरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ । सरकार वनस्पति तथा जडिबुटी क्षेत्रको विकासको लागि आवश्यक नीति, ऐन र कानूनी सुधार गर्न प्रतिवद्ध छ । समयसापेक्ष सधारमार्फत निजी क्षेत्रलाई आकर्षित गर्ने वातावरण बनाउने र अनुसन्धानलाई प्रोत्साहन गर्ने हाम्रो लक्ष्य हो । युवालाई वनस्पति विज्ञान, जैविक अनुसन्धान र नवप्रवद्र्धनतर्र्फ आर्कषित गर्नुपर्छ ।”
विभागले नेपालमा रहेका वनस्पति सम्पदाको वैज्ञानिक पद्धतिद्वारा अभिलेखीकरण गरी ‘वृहत नेपाल फ्लोरा’ प्रकाशन गर्ने तयारी गरेको छ ।
हाल ६५८ वटा प्रजातिका वनस्पतिहरुको अभिलेखीकरण भइसकेको विभागले जनाएको छ । कार्यक्रममा वानस्पातिक स्रोतको संरक्षण तथा विकासमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।