लेखनाथ समाचारदाता
लेखनाथ, चैत २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडमा आइतबारबाट फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।
२१ औँ संस्करणको महोत्सव नयाँ वर्ष २०८३ को स्वागतमा आरम्भ भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महोत्सव उद्घाटन गर्नुभयो ।
शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रूपमा सञ्चालन हुनु यसको मुख्य सफलता भएको उल्लेख गर्नुभयो ।“पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण सहर हो,” उहाँले भन्नुभयो, “यो सहरमा हुने विभिन्न महोत्सवमध्ये नेपाली नयाँको महोत्सवको छुट्टै महत्त्व र पहिचान छ ।”
महोत्सवअघि सांस्कृतिक झाँकी र बाजागाजासहितको र्याली निकालिएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले यस्ता कलात्मक झाँकीले नेपालीको मौलिक, विविधतासँगै एकताको भावना प्रतिबिम्बन गर्ने विचार राख्नुभयो ।
होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिए यहाँ वर्षभरी नै पर्यटकको घुइँचो हुने बताउनुभयो । आइतबार सुरु भएको महोत्सव सहिद चोक र खहरे बिचको सडकमा मङ्गलबारसम्म चल्ने छ ।
महोत्सव आयोजक होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली नयाँ उत्सवपूर्ण तवरले मनाउँदै महोत्सव सकिने उल्लेख गर्नुभयो ।
महोत्सवमा सातै प्रदेशका सांस्कृतिक नाच प्रस्तुत गरिएको छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै भएको महोत्सवमा यहाँ होटलले आफ्नो दररेटमा २५ प्रतिशतसम्म छुट दिएका छन् ।
महोत्सवमा साँझ सांस्कृतिक प्रस्तुति र पञ्चेबाजाको रौनक हुने छ भने पप कन्सर्ट पनि चल्ने छ । महोत्सवमा पर्यटक दौड प्रतियोगिता पनि समावेश गरिएको छ ।