सन्तोष दहित
दाङ, चैत २९ गते । दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा नयाँ वर्ष २०८३ को अवसरमा वैशाख ४ देखि ६ गतेसम्म ‘रैथाने खाना महोत्सव’ आयोजना हुने भएको छ। थारू सांस्कृतिक संरक्षण केन्द्र चखौराको सहकार्यमा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको अगुवाइमा महोत्सव सञ्चालन हुन लागेको हो।
लामो समयदेखि थारू समुदायको रैथाने परम्परा, इतिहास, संस्कृति र संस्कारको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गर्दैआएको थारू सांस्कृतिक संरक्षण केन्द्रले चखौरामै ‘थारू सांस्कृतिक सङ्ग्रहालय’ सञ्चालन गर्दैआएको छ। पछिल्लो समय थारू समुदायको परम्परागत खानपान, भेषभूषा र रीतिरिवाज लोप हुँदैगएको अवस्थामा यसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थारू सांस्कृतिक संरक्षण केन्द्रको उपाध्यक्ष शान्ता चौधरीले जानकारी दिनुभयो।
उहाँको अनुसार महोत्सवमा विशेषगरी थारू समुदायका परम्परागत खानाका परिकारहरू प्रमुख आकर्षण रहने छ। दाङको विभिन्न स्थानका साथै रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा बसोवास गर्ने थारू समुदायले आफ्ना मौलिक परिकारहरू प्रदर्शन तथा बिक्री गर्ने छन्। यसका साथै नेवार, गुरुङ र मगर समुदायका परिकारहरू पनि महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ। महोत्सवमा करिब १०० भन्दा बढी प्रकारका रैथाने खानाहरू राख्ने लक्ष्य रहेको केन्द्रको उपाध्यक्ष चौधरीले बताउनुभयो ।
खानाका परिकारसँगै विभिन्न समुदायका परम्परागत नाच, गीत तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने छन्। महोत्सव सफल बनाउन स्थानीयवासी, स्थानीय तह, युवा–विद्यार्थी, राजनीतिक दल, उद्योग व्यवसायी, सञ्चारकर्मी, कलाकार तथा संस्कृतिप्रेमी सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। साथै, पत्रकार तथा सञ्चार गृहलाई महोत्सवमा उपस्थित भइ रैथाने स्वाद अनुभव गर्न निम्ता दिइएको आयोजकको भनाइ छ।