• २९ चैत २०८२, आइतबार

छैटौं मेयर कप ब्याडमिन्टनमा आन्द्रियास प्रथम

blog

ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्नुहुँदै फुङ्लिङ नगर प्रमुख अमिर मादेन।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २९ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय छैटौं मेयर कप ब्याडमिन्टन प्रतियोगितामा आन्द्रियास लिम्बू प्रथम हुनुभएको छ। इलामका दिवस शङ्करलाई पराजित गर्दै आन्द्रियास प्रथम हुनुभएको हो।

प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम हुनुभएका ताप्लेजुङका आन्द्रियासले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनुभयो। उपविजेता बन्नुभएका दिवसले २० हजार रुपियाँ नगद र ट्रफी, पदक तथा प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ। 

यस्तै प्रदेशस्तरीय नै मिक्स डबलमा ताप्लेजुङका मिलिन गुरुङ र उदयपुरकी रोजी राईको जोडी प्रथम हुँदा ताप्लेजुङका आन्द्रियास लिम्बू र भोजपुरकी एन्जिला राईको जोडी दोस्रो भएको छ। मिक्स डबलमा प्रथम हुनेले २० हजार र दोस्रो हुनेले १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। 

त्यस्तै जिल्लास्तरीय पुरुष डबलतर्फ डेभिट मादेन र रमेश मादेनको जोडी प्रथम हुँदै १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ। दोस्रो हुँदै केशव पौडेल र सुजन श्रेष्ठको जोडीले १० हजार रुपियाँ नगद पुरस्कार पाएको छ। प्रथम र दोस्रो हुने दुवै जोडीले नगद पुरस्कारसँगै ट्रफी, पदक र प्रमाणपत्र  प्राप्त गरेको छ।

भेट्रान्सतर्फ बसन्त गुरुङ र सुरज मादेनको जोडी प्रथम तथा इन्द्र गुरुङ र मानबहादुर पालुङ्वाको जोडी दोस्रो भएको छ। प्रथम र दोस्रो हुनेले क्रमशः १५ हजार र १० हजार रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै जनप्रतिनिधि र कर्मचारीतर्फ लक्ष्मण घताने र सन्तोष तामाङको जोडी प्रथम, विकास तामाङ र फुर्वा शेर्पाको जोडी द्रोस्रो भएको छ। 

जनप्रतिनिधि र कर्मचारीमा पनि प्रथम र दोस्रो हुनेले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै १५ वर्ष मुनिको पुरुषतर्फ कामा लिम्बू प्रथम र अंकित लिम्बू दोस्रो, महिलातर्फ रेस्मा गुरुङ प्रथम र निसुम गुरुङ दोस्रो हुनुभएको छ। पुरुष, महिला दुवैतर्फ प्रथम र दोस्रो हुनेले क्रमशः छ हजार र चार हजार रुपियाँका दरले नगद पुरस्कार साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा सबै समूह तथा विधाका विजेताहरुलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, आयोजक जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश सिङ्घक लगायतले पुरस्कार रकम, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभयो। फुङ्लिङ नगरपालिकाको आर्थिक व्यवस्थापनमा आयोजित प्रतियोगिता बिहीबार सुरु भई शनिबार बेलुकी अबेर सम्पन्न भएको हो। यता सबै समूह तथा विधामा तेस्रो हुनेलाई पनि नगद पुरस्कार साथै ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको ब्याडमिन्टन सङ्घले जनाएको छ।