• २९ चैत २०८२, आइतबार

शसस्त्र प्रहरीद्धारा एकैदिन ३१ लाख रुपियाँको अवैध सामान बरामद

blog

शसस्त्र प्रहरीले सीमा नाकाबाट बरामद गरेको ३१ लाख रुपियाँको अवैध सामान । तस्बिर :सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २९ गते ।देशमा नयाँ सरकार गठन भएलगत्तैबाट प्रहरीले यहाँस्थित नेपाल भारत सीमा नाकामा तस्करी र अवैध आयात निर्यात विरुद्ध कडा अभियान शुरु गरेको छ ।

सोही क्रममा प्रहरीलाई ठुलो सफलता समेत हात लाग्न थालेको छ । तस्करी र अवैध आयात निर्यात रोक्न सक्रिय भएको शसस्त्र प्रहरीले एकै दिन यहाँस्थित नेपाल भारत नाकाबाट ३१ लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिन सफल भएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीको टोलीले शनिवार नेपाल भारत सीमा नाका नजिकै रहेको डुडुवा गाउँपालिका १ पाझा चौफेरीबाट अवैध रुपमा भारतबाट नेपाल भित्र्याउन थालिएको ट्याक्टर सहित करिब ३१ लाख रुपियाँ बराबरको अवैध सामान र ट्याक्टर बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण हेटक्वाटर बागेश्वरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दले भारतबाट नेपालतर्फ आउँदै गरेको भे २ त २३५ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको २१ लाख रुपियाँ बराबरको ६२० किलो (२० कार्टुन) सागा च्याउ र दस लाख रुपियाँ बराबरको ट्याक्टर बरामद गरी आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बताउनुभयो ।

उहाँले अवैध सामान आउँदै गरेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले ट्याक्टरलाई चेकजाँच गर्दा उक्त सामान बरामद भएको र ट्रयाक्टरसहित सामानलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

सीमा नाकाको क्षेत्रबाट हुने विभिन्न प्रकारका सामानको अवैध आयात रोक्न मुख्य नाकामा निकै कडाइ गर्नुका साथै विभिन्न ठाउँमा निरन्तर गस्ती गरिरहेको तथा नाकामा निकै सचेत भएर ड्युटी प्रहरीले गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीले जनाएको छ ।

सो कार्यालयका अनुसार प्रहरीले दिनदिनै जिल्लाका विभिन्न स्थानबाट अवैध सामान नियन्त्रणमा लिँदै आएपनि चोरी तस्करी र अवैध आयात निर्यात गर्नेहरुले अवैध रुपमा सामान ल्याउने कार्य निरन्तर गरिहेको पाइएको छ ।