• २९ चैत २०८२, आइतबार

गृहमन्त्री गुरुङद्वारा 'पिर्के सलामी' नलिने निर्णय

blog

नवलपुर पुग्नुभएका गृहमन्त्री सुधन गुरुङ र उहाँलाई पिर्के सलामीका लागि तयार पारिएको स्थान । तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

नवलपुर, चैत २९ गते । गृहमन्त्री सुधन गुरुङले आफूले औपचारिक कार्यक्रममा 'पिर्के सलामी' नलिने निर्णय गर्नुभएको छ । नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङले सुरक्षा निकायले दिने त्यस्तो औपचारिक सलामी नलिने घोषणा गर्नुभएको हो ।

गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण बरालले कार्यालयमा स्वागत गर्नुभएको थियो । सो अवसरमा गृहमन्त्रीले सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिँदै तामझाम र औपचारिकताभन्दा कार्यसम्पादन र जनताको सेवामा केन्द्रित हुन आग्रह गर्नुभयो ।

स्वागत कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक (एसपी) युवराज खड्का र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक अभिनयकुमार सिंह लगायतको उपस्थिति रहेको थियो

गृहमन्त्री गुरुङ आइतबार नवलपुर पुग्नुभएको हो । उहाँलाई त्यहाँ सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरातमा चितवन पुग्नुभएका मन्त्री गुरुङ आइतबार दिउँसो नवलपुर पुग्नुभएको हो । 

यसअघि उहाँले भरतपुरमा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आइतबार बिहान रास्वपा चितवनका सभापति कृष्ण भुसाल र भरतपुर महानगर सभापति सीता ज्ञवालीले उहाँलाई भरतपुरमा स्वागत गर्नुभएको थियो ।