• २९ चैत २०८२, आइतबार

नगर अस्पतालको भवन निर्माणमा ढिलाइ

blog

पैयुपाटामा निर्माणाधिन अस्पतालको भवन । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २९ गते । बागलुङ नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको बागलुङ नगर अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ ।

निर्माण कम्पनीले पटक पटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका वडा  १३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माणमा ढिलाइ भएको हो ।  

२०८० असार २० गते सम्पन्न गर्नेगरी २०७८ असारमा महालक्ष्मी जुगल संयुक्त निर्माण कम्पनीले सम्झौता गरी भवन निर्माणको काम थालेको थियो । कम्पनीले दोस्रो पटक थपेको म्याद गत असारमै सकिएको थियो । तेस्रो पटकको म्याद आगामी असारसम्म छ । 

तेस्रो पटक थपिएको म्यादसम्म अस्पताल भवन निर्माणको काम ५५ प्रतिशत मात्रै छ । दुई वर्षअघि ५० प्रतिशत सकिएको काम २४ महिनायता ५ प्रतिशत मात्रै थपिएको छ । समयमै काम सक्न ताकेता गरे पनि ठेकेदार पक्षले बेवास्ता गर्दैआएको बागलुङ नगरपालिकाका इन्जिनियर सोविन घर्तीले बताउनुभयो । 

‘‘म्याद थप्ने बेलामा केही कामदार ल्याएर काम गरेजस्तो गर्ने व्यवहारले लक्ष्यअनुसार काम हुन सकेन’’ घर्तीले भन्नुभयो । पटक पटक म्याद थपेर पनि निर्माण कम्पनीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बेवास्ता गरेको बागलुङ नगरपालिका वडा १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल बताउनुभयो । ‘कछुवा गतिको कामले घरछेवैमा विशिष्टिकृत सेवा पाउने आशा निराशा परिणत हुँदै गएका छन्’’ पौडेलले भन्नुभयो, ‘‘ठेकेदारले कर्तव्यबोध नगर्दा गाउँका जनताले दुःख पाए ।’’  

संघीय सरकारको बजेट साझेदारीमा नगरपालिकाले अस्पतालको भवन निर्माण थालेको हो । अस्पतालको भवन समयमै बनेमा बलेवा क्षेत्रका पैयुँपाटा, नारायणस्थान, अमलाचौरसँगै भकुण्डे, रायडाँडासहित जैमिनी नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । 

बागलुङ नगरपालिकाले पन्ध्र शैयाको अस्पताल बनाउनेगरी १२ करोड ८७ लाख रुपियाँमा २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले अहिलेसम्म ४ करोड ५३ लाख भुक्तानी पाएको लेखा अधिकृत प्रेमप्रसाद शर्माले बताउनुभयो । 

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, भवन निर्माण सम्पन्न भएमा एक एमजिडिपी डाक्टर, ३ मेडिकल अफिसर, ४ स्टाफ नर्स, ४ हेल्थ असिस्टेन्टसहित ३० जना स्वास्थ्यकर्मी पठाएर सेवा दिने तयारी छ । अस्पतालका लागि स्वीकृत दरबन्दी भए पनि भवन निर्माण सम्पन्न नहुँदा माग गर्न नसकिएको खनालको भनाइ छ । 

निर्माण कम्पनीका प्रमुख नरेश ओझा पहिलो चरणमा बजेट अभाव हुँदा कामले गति लिन नसकेको बताउनुहुन्छ । नगरपालिकाबाट बजेट भुक्तानी भएमा पर्याप्त कामदार खटाएर काम सम्पन्न गर्न सकिने ओझाको भनाइ छ । नगर उपप्रमुख राजु खड्काले भने अघिल्लो वर्षकै बजेटमा भुक्तानी दिने योजना बनाए पनि ठेकेदारले कामै नगरेको तर्क गर्नुहुन्छ ।