केशवराज भट्ट
वासुलिङ बैतडी, चैत २९ गते ।बैतडीको पञ्चेश्वर गाउँपालिका-४ हल्दुबिनायक क्षेत्रबाट सशस्त्र प्रहरीले २१ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध किराना सामान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्मको टोलीले नियमित गस्तीका क्रममा एक थान बोलेरो पिकअप र एक थान ट्रयाक्टरमा लोड गरिएका उक्त सामान बरामद गरेको हो ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले परिचालित टोलीले शङ्कास्पद अवस्थामा रहेका सवारी साधनलाई जाँच गर्दा ठूलो परिमाणमा किराना सामग्री फेला परेको बताइएको छ ।प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूको मूल्य २१ लाख रुपियाँभन्दा बढी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।
आवश्यक कागजातबिनै ओसारपसार गरिँदै गरेको पाइएपछि सामान सहित सवारी साधन नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस घटनापछि सीमा क्षेत्रमा हुने अवैध व्यापार तथा चोरी तस्करी नियन्त्रणमा थप कडाइ गरिने सुरक्षा निकायले उल्लेख गरेको छ ।सीमावर्ती क्षेत्रमा पछिल्लो समय यस्ता गतिविधि बढ्दै गएकाले सुरक्षाकर्मीले निगरानी तीव्र बनाएका छन ।
स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यमा अवैध ओसारपसार रोक्न थप प्रयास भइरहेको बताइएको छ ।