सुजन बज्राचार्य
संखुवासभा, चैत २९ गते । इन्धनजन्य सामग्रीमा भइरहेको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग सङ्कटग्रस्त बनेको भन्दै नेपाल निर्माण व्यवसायी सङ्घ संखुवासभाले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
संघका महासचिव सुनिल कुमार श्रेष्ठले आइतबार सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर नेपालको निर्माण उद्योगमा परेको बताउनुभयो ।
युद्धका कारण निर्माण कार्यमा प्रयोग हुने डिजेल, पेट्रोल, बिटुमिन, रड र सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएकाले निर्माण कार्य सञ्चालन गर्न व्यवसायी कठिनाइमा परेका छन् ।
उहाँका अनुसार देशभर करिब २० देखि २५ लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको निर्माण क्षेत्र हाल मूल्यवृद्धिको चपेटामा पर्दै धरासायी हुने अवस्थामा पुगेको छ ।
निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दासमेत राष्ट्र बैंकको मूल्य सूचकाङ्कमा वास्तविक अवस्था नदेखिएको भन्दै संघले गुनासो गरेको छ ।
पत्रकार सम्मेलनमार्फत सङ्घले निर्माण उद्योगलाई आपतकाल घोषणा गरी व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
साथै, हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने अवस्था रहेकाले “मूल्य समायोजन मार्गनिर्देशिका–२” तत्काल जारी गर्नुपर्ने आवश्यकता रहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सङ्घले सबै अवधिका निर्माण आयोजनामा मूल्य समायोजनको स्पष्ट व्यवस्था मिलाउन तथा निर्माण सामग्रीको वास्तविक बजार मूल्यलाई राष्ट्र बैङ्कको सूचकाङ्कमा समावेश गर्न समेत आग्रह गरेको छ ।
महासचिव श्रेष्ठले यसअघि नै नेपाल निर्माण व्यवसायी महासङ्घमार्फत सरकार तथा सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नभएको उल्लेख गर्दै समस्यालाई गम्भीरतापूर्वक समाधानका लागि ढिलाइ नगर्न आग्रह गर्नुभयो ।
सङ्घले आफ्ना माग समयमै सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।