शंकर केसी
सल्यान, चैत ३० गते । सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले लोकतन्त्रलाई मजबुत बनाउनुपर्ने आवश्यकता औल्याउँदै सुशासन र पारदर्शितामा जोड दिएका छन् । सदरमुकाम खलङ्गामा सोमबार बिहान आयोजित कार्यक्रममा सङ्घीय, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुले जन आन्दोलन र सङ्घर्षबाट प्राप्त नागरिक स्वतन्त्रता र लोकतन्त्रमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने धारणा व्यक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सल्यानद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सल्यानबाट प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले वर्तमान सरकारबाट लोकतन्त्र र लोकतान्त्रिक संस्थामाथि अंकुश लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।
नागरिकहरुको तपस्या, जन आन्दोलनको संघर्षबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि बढ्दै गएको उल्लेख गर्दै उहाँले विश्वविद्यालय जस्ता शैक्षिक संस्थामा हस्तक्षेप भइरहेको बताउनुभयो। राजनीतिक प्रभावबाट टाढा राख्ने नाममा संस्थाहरूलाई नियन्त्रणमा राख्ने प्रयास अस्वीकार्य रहेको उहाँको भनाइ थियो ।
उहाँले सञ्चार माध्यममाथि अंकुश लगाउने प्रयासप्रति पनि असन्तुष्टि व्यक्त गर्दै छलफल र समन्वयबिना गरिने एकल निर्णय लोकतान्त्रिक अभ्यासविपरीत भएको बताउनुभयो । यद्यपि सरकारले गरेका केही सकारात्मक कामहरूलाई समर्थन गरिने सांसद मल्लले बताउनुभयो ।
जनताको अपेक्षा अनुसार काम गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै जनताका आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयो । “प्रिबजेट छलफलका लागि समय मागेका छौँ, त्यसमा सहभागी हुन पाउनुपर्छ,” उहाँले भन्नुभयो । बजेट निर्माण प्रक्रियामा महिला, दलित तथा भौगोलिक सन्तुलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले कर्णाली प्रदेशका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो । कर्णालीलाई सँधै पछि पार्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व कृषिमन्त्री तथा प्रदेश सांसद भिम प्रकाश शर्माले सुशासन र पारदर्शिता कायम गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकारका कमजोरीमा खबरदारी गर्दै सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पत्रकार र मिडियाको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सरकारी गतिविधि सार्वजनिक गर्न मिडियाको सहारा अपरिहार्य भएको बताउनुभयो । उपप्रमुख असबिर बुढाथोकीले पत्रकार र मिडियाको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
बागचौर नगरपालिकाका उपप्रमुख सुम्निमा वली डिसीले स्थानीय तह र पत्रकारबीच समन्वय अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले मिडियालाई राज्यको चौथो अंगको रूपमा व्याख्या गर्दै सहकार्यबाट मात्र देश समृद्ध हुने बताउनुभयो । साथै पछिल्लो समय केही गैरजिम्मेवार समाचारले भ्रम सिर्जना गरेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सूचना संकलन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष तथा सामुदायिक प्रसारक संघ (अकोराब) कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, महासंघ सल्यानकै पूर्व कार्यवाहक अध्यक्ष शनत शर्मा गायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, उपाध्यक्ष शिव डाँगी, सचिव बुद्धि पुन लगायतका पत्रकारहरुले नवनिर्वाचित सांसद मल्ललाइ बधाई ज्ञापन गर्नुभएको थियो।