सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) चैत ३० गते । नयाँ वर्ष २०८३ को अवसरमा धनकुटाको कोप्चेमा मौलिकता संरक्षण, पर्यटन प्रवर्धन’ भन्ने नाराका साथ चौथो कोप्चे फेस्टिभल सुरु भएको छ । सोमबारदेखि धनकुटा नगरपालिका–५, स्थित ऐतिहासिक बिहीबारे हटियामा कोप्चे पुनर्जागरण अभियानले बैशाख २ गतेसम्म फेष्टिभल सुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले गमलामा पानि हालेर गर्नुभएको थियो । कार्यक्रमामा बोल्दै नगर प्रमुख तामाङले मौलिक खानाका माध्यमबाट पर्यटनमा प्रवद्र्धनमा सहयोग हुने बताउनुभयो ।
उहाँले यस जागरण अभियानलाई नगरले सकेको साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कसरी अगाडी बढ्न सकिन्छ आवश्यक साथ सहयोग रहने बताउनुभयो । यस्तै उहाँले स्थानीय आठपहरिया जातिको होमस्टे प्रवर्धन गर्दै अगाडि बढेको बताउँदै कोप्चे क्षेत्रमा पर्यटक बढे भने अन्य क्षेत्रमा पनि पर्यटन बढ्ने हुँदा जसले गर्दा आर्थिक सुधार हुने अपेक्षा समेत रहेको बताउनुभयो ।
आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा त्यहाँ मुख्य बसोबास रहेको नेवार, आठपहरियालगायत जातिको कला, संस्कृति, भेषभुषा, रहनसहन र परिकार विशेष आकर्षण रहेको छ । सामाजिक विकासका लागि युवाहरुको प्रयास संस्थाको अगुवाइमा २०७९ सालदेखी फेस्टिभल सुरु गरिएको हो ।
कोप्चे पुन जागरण अभियानबारे जानकारी प्रदान गर्न, पर्यटन विकासमार्फत आर्थिक, सामाजिक विकास र जीवनस्तर उकास्न, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकता संरक्षण र बाहृय पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको कोप्चे पुनर्जागरण अभियानका सचिव उज्वल कर्मचार्यले बताउनुभयो ।
फेष्टिभलमा २० वटा स्टल रहेका छन् । यस्तै, स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीसमेत आकर्षण रहेको छ । पर्यटन विकास, धनकुटाका पुराना तस्बिर, परम्परागत लोपोन्मुख वस्तुहरु तथा मनोरञ्जनात्मक खेलसमेत समावेश गरिने आयोजक समितिका संयोजक तथा कार्यवहाक अध्यक्ष रिदम श्रेष्ठले बताउनुभयो ।
यस्तै धनकुटा नगरपालिका–५ स्थित कोप्चे र काठमाडौ महानगरपालिका–५ स्थित हाडी गाउँ बीच पर्यटन प्रवद्र्धन, कला संस्कृति र नीतिगत विषमा सम्झौता समेत भएको थियो। सम्झौता पश्चात् बोल्दै हाडी गाउँका वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले आर्थिक रुपले सहयोग गर्न नसके पनि नितिगत कुरामा साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्रर्यटन प्रर्वद्धनका लागिथ कुन–कुन स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने आवस्यक पहल कदमि लागि सहयोग गर्ने प्रतिवद्धता व्याक्त गर्नुभयो । पहिचान जोगाउने काममा लागेको र सधैव साथ सहयोग रहने साथै पुलको काम गर्ने उहाको भनाइ थियो ।