गोरखापत्र अनलाइन
काठमाडौ, चैत ३० गते । यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ । सोमबार नेपाल पत्रकार मञ्चको २० औं स्थापना दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका रातोपाटी डटकमका आर्थिक ब्युरो प्रमुख अर्याललाई सो पुरस्कार प्रदान गरिएको हो ।
उहाँलाई गोरखापत्र संस्थानका अध्यक्ष अखण्ड भण्डारी र स्व. श्रेष्ठकी श्रीमती कृष्ण8कुमारी श्रेष्ठले संयुक्त रूपमा ११ हजार १ सय ११ रुपियाँको चेक हस्तान्तरण गर्दै सम्मान गर्नुभएको थियो । त्यस्तै, नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज बिद्रोही सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अर्यालले पुर्याएको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष बिद्रोहीले जानकारी दिनुभयो । नेपाल पत्रकार मञ्चमा आबद्ध पत्रकारमध्ये प्रत्येक वर्ष उत्कृष्ट एक जनालाई छनोट गरी चैत ३० गते यो पुरस्कार प्रदान गरिँदै आएको छ । मध्यान्ह दैनिककी प्रकाशक श्रेष्ठले आफ्नो स्व. बुबाको सम्झनामा सो पुरस्कार स्थापना गर्नुभएको हो ।
यस्तै, सोही कार्यक्रममा ‘उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार २०८२’ वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गरिएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका दवाडीलाई दीर्घकालीन योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।
उहाँलाई प्रमुख अतिथि भण्डारी र पुरस्कार स्थापनाकर्ता मञ्चका पूर्व महासचिव एवं सल्लाहकार रामप्रसाद पौडेलले संयुक्त रुपमा ५ हजार ५ सय ५५ रुपियाँको चेक हस्तान्तरण गर्दै सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले पत्रकारितामा समर्पित व्यक्तित्वलाई प्रोत्साहन गर्दै सम्मान गरेकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्नुभयो । यस किसिमको सम्मानले पत्रकारलाई आफ्नो सेवामा समर्पित हुन थप हौसला मिल्ने उहाँको भनाइ छ ।
कार्यक्रममा मञ्चको २० औं स्थापना दिवसको अवसरमा मञ्चका अध्यक्ष बिद्रोही, प्रमुख अतिथि भण्डारी र मध्यान्ह राष्ट्रिय दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठले संयुक्तरुपमा केक काट्नुभएको थियो ।