दाङ समाचारदाता
दाङ, फागुन १६ गते । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यहाँका गाउँसहर चुनावमय बनेका छन् । राजनीतिक दलका उम्मेदवारले गाउँकेन्द्रित कार्यक्रम गर्न थालेपछि अहिले गाउँघरमा चुनावी रौनकता छाएको छ ।
हरेक पार्टीका उम्मेदवार सांस्कृतिक कार्यक्रम लिएर मतदातासमक्ष पुगिरहेका छन् । यसले गर्दा अहिले गाउँमा चुनावी वातावरण निकै तातिँदै गएको घोराही–१६, मघैका नगेन्द्र चौधरीले बताउनुभयो । स्थानीय आदिवासी जनजातिका मतलाई आफूतिर आकर्षण गर्न स्थानीय कला, संस्कृतिमार्फत भोट माग्न नेताहरूले नयाँ शैली अपनाउन थालेका छन् । अहिले मतदाताको मन जित्न दलहरूले भाषणभन्दा बढी स्थानीय सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना घोषणा सार्वजनिक गर्ने, प्रतिबद्धता प्रस्तुत गर्ने गरिएको छ ।
घोराही–१७, गुलरियाका विपिन चौधरीले भन्नुभयो, “अहिले स्वयम् समुदायको सांस्कृतिक कार्यक्रममार्फत मत माग्न थालेका छन् ।” विशेष गरेर दाङ–२ मा प्रमुख दलका उम्मेदवार अहिले स्थानीय कलाकारमार्फत गाउँटोलमा पुगिरहेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार शङ्कर पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विपिन आचार्यले आफूसँगै थारू, मगर समुदायका कलाकारलाई लिएर मत माग्दै गर्नुभएको छ ।
मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारले स्थानीय कलाकारलाई लिएर बस्ती बस्ती पुग्दै आफ्नोतर्फ मत तान्ने कोसिस गरिरहेको आभास भएको थारू अगुवा जागुराम चौधरीले बताउनुभयो । यसरी सांस्कृतिक माध्यमबाट मतदातासँग नजिकिँदा उम्मेदवारलाई स्थानीय समुदायले सहज र आफ्नै जस्ता रूपमा लिन थालेको उहाँको भनाइ छ ।
उम्मेदवारले थारू समुदायको ‘हुर्डुङ्ग्या, छोक्रा, झुमरा’ नाच देखाउँदै गाउँलेलाई जुटाउने र सोही अवसरमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गरेका छन् । त्यसै गरी मगर समुदायमा पुग्दा मगर संस्कृति प्रस्तुत गर्ने गर्छन् । जगवीर चौधरीले भन्नुभयो, “अहिले त नाचगान गरेर आउँछन्, धेरै फरक महसुस हुन्छ ।
जितेपछि फर्केर हेर्छन् कि हेर्देनन् ?” सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदा समुदाय र उम्मेदवारप्रति नजिक सम्बन्ध बनाएको महसुस हुने गरेको उहाँको भनाइ छ । दाङ–२ मात्र नभई तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारले अहिले यही शैली अपनाएका छन् ।