काठमाडौँ, वैशाख १० गते । सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले सरकारको आगामी नीति, कार्यक्रम र बजेटमा बालबालिका क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सांसदले बाल अधिकारमुखी बजेट र नीतिगत व्यवस्थाका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै बाल संरक्षणका कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज सांसदसँग आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न पार्टीका सांसदहरूले बालबालिका र शिक्षामा हुने लगानी भविष्यको सुनिश्चितता भएकाले यस क्षेत्रमा बजेट वृद्धि हुनुपर्नेमा जोड दिनुभयो।
बालबालिका क्षेत्रमा बजेट वृद्धि गर्ने, बालविवाह अन्त्यसम्बन्धी कार्ययोजनाको कार्यान्वयन, बालमैत्री स्थानीय शासनको प्रवर्धन, विद्यालय खाजा कार्यक्रमको वृद्धि, बाल पोषण भत्ता वृद्धि र देशभर विस्तार, बालबालिकासम्बन्धी ऐन र विद्यालय शान्ति क्षेत्र निर्देशिकाको संशोधनलगायत विषयमा सांसदहरूको समान मत रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले यौनिक तथा अल्पसङ्ख्यक बालबालिकाको सवाललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य बासना थापाले बालअधिकारका लागि भएका अन्तरर्राष्ट्रिय अभिसन्धि, नेपालको संविधान र विद्यमान ऐन अनुसार उचित बजेट र कार्यक्रम ल्याइनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का राष्ट्रिय सभाका सदस्य रोश्नी मेचेले छलफलमा आएका अधिकारमुखी र सकारात्मक सुझावहरूलाई सदनमा आवाज उठाइने बताउनुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का गणेश विकले बजेट निर्माणमा सांसदहरूको भूमिकालाई महत्त्व दिइनुपर्ने र बालबालिका क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य सरस्वती लामाले बाल विवाह अन्त्य, बाल हिंसाको अन्त्यजस्ता सवालमा सरकार गम्भिर हुनुपर्ने बताउनुभयो ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानु पौडेल, राजन गौतम, कांग्रेसका निनुकुमारी कर्ण, एमालेका साजिदा खातुन सिद्धिकी, एशुदाकुमारी बराल, नेकपाका पार्वती विकलगायत प्रतिनिधिसभा, राष्ट्रिय सभा र बागमती प्रदेशसभाका गरी ३६ सांसद सहभागी हुनुहुन्थ्यो ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेलले जनसङ्ख्याको ३३ दशमलव ८४ प्रतिशत रहेका बालबालिकासम्बन्धी राष्ट्रिय गौरवका योजना हुनुपर्ने र बाल बजेट सङ्केत कायम हुनुपर्नेमा जोड दिनुभयो ।
सो अभियानले यसअघि महिला, बालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई आगामी नीति, कार्यक्रम र बजेटमा समावेश हुनुपर्ने विषयबारे ध्यानाकर्षण गराइसकेको छ ।रासस