कोकिला ढकाल
इलाम, वैशाख १० गते । पछिल्लो समय बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको छ ।
अभियानको क्रममा मोटरसाइकललाई मोडिफाइ गरी रातिको समयमा बजार क्षेत्रमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने र तीव्र गतिमा चलाइने सवारी साधनलाई गए रातिदेखि नियन्त्रणमा लिन थालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
यस क्रममा गएराति इलाम बजार र आसपासका क्षेत्रबाट आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिनुुभयो ।
पछिल्लो समय इलाम बजार तथा आसपासको क्षेत्रमा केही युवाहरूले मोटरसाइकलको साइलेन्सर लगायतको पार्टपुर्जामा स्वरूप परिवर्तन गर्ने र अनावश्यक रूपमा ठुलो आवाज निकाल्ने, रातिको समयमा अनियन्त्रित रूपमा कुदाउने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि विशेष निगरानीसहित अभियान चलाइएको प्रहरी निरीक्षक उदासको भनाइ छ ।