• १० वैशाख २०८३, बिहिबार

निर्माण व्यवसायीद्वारा बजार मूल्य अनुसार राहत दिन माग

blog

बाँके निर्माण व्यवसायी सङ्घको तर्फबाट प्रजिअलाई ज्ञापनपत्र बुझाइँदै । तस्बिरः सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख १० गते । बाँकेको निर्माण व्यवसायीहरूले यतिबेला पेसा चर्को महँगीका कारण गम्भीर सङ्कटमा परेको जनाउँदै सोबाट राहत दिन सरकारसँग माग गरेका छन् । 

बाँके निर्माण व्यवसायी सङ्घले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सरकारलाई ज्ञापनपत्र पठाउँदै निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, पेट्रोललगायत अन्य सामग्रीको मूल्य अत्यधिक बढेकाले निर्माण उद्योग धराशायी हुने अवस्थामा पुगेको जनाएको छ ।

संघका महासचिव भुपाल वलीले ज्ञापनपत्र बुझाउँदै इन्धन, सिमेन्ट, छड, गिट्टी, बालुवा लगायतका सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिले निर्माण कार्य सञ्चालन गर्न कठिन भएको उल्लेख गर्दै बजारमा सामग्री अभावसमेत देखिएकाले निर्माण व्यवसाय थप सङ्कटमा परेको बताउनुभयो ।  

उहाँले सरकारसँग तत्काल मूल्य समायोजनको स्पष्ट नीति ल्याउन, दररेट हालको बजार मूल्य अनुसार कायम गर्न र निर्माण व्यवसायीलाई राहत दिन ज्ञापनपत्रमार्फत माग गरिएको जनाउँदै अन्यथा निर्माण कार्य ठप्प पार्ने चेतावनी दिइएको बताउनुभयो । 

यता, बाँकेका निर्माण व्यवसायी खुसी बिल्डर्सका प्रोप्राइटर उमेशजङ्ग शाहीले अत्यधिक मूल्यवृद्धिप्रति आफ्नो असन्तुष्टि प्रकट गर्दै महँगीले आकाश छोएकाले सरकारले अहिलेको महँगी अनुसार दररेट कायम गर्नुपर्ने माग गर्दै त्यसो नगरिए निर्माणको काम रोकेर ‘कन्स्ट्रक्सन होलिडे’ मनाउन बाध्य हुने चेतावनी दिनुभयो । 

उहाँले बाँके निर्माण व्यवसायी सङ्घप्रति पनि प्रश्न उठाउँदै, सङ्घले समेत व्यवसायीको जायज मागहरू पूरा गराउन सक्रिय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । 

बाँके निर्माण व्यवसायी सङ्घका अनुसार निर्माण क्षेत्रमा बढ्दो लागत, भुक्तानी ढिलाइ र मूल्य समायोजनको अभावले व्यवसायीहरू आक्रोशित बन्दैगएका छन् । यदि समस्या समाधानमा ढिलाइ भएमा जिल्लाभर निर्माण कार्य प्रभावित हुने चेतावनी व्यवसायीले दिएका छन् ।